प्रज्जवल थापा । फिफा विश्वकप तथा एसियन कप छनोट खेल खेल्न नेपाली टिम कुवेत पुगेको छ । घरेलु टोलीसँग मैत्रीपूर्ण खेल खेल्न इराकमा रहेको नेपाली टिम आइतबार राति सिधै कुवेत पुगेको हो ।
नेपालले शनिबार इराकसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । फिफा वरियतामा १ सय ३ औं स्थान माथि रहेको इराकसँग नेपालले ६-२ गोलको फराकिलो हार बेहोरेको थियो । उक्त खेललाई विश्वकप र एसिया कप छनोट खेलको तयारीको रुपमा लिइएको थियो ।

अब नेपालले विश्वकप छनोटका बाँकी तीन खेल कुवेतमा खेल्नेछ । नेपालले चाइनिज ताइपेइ, जोर्डन र अष्ट्रेलियासँग खेल्न बाँकी रहेको छ । नेपालले जुन ३ मा चाइनिज ताइपेइसँग खेल्नेछ भने जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियाको सामना गर्नेछ ।
नेपालको विश्वकप छनोटको अर्को चरण खेल्ने सम्भावनामा लगभग सकिसकेको छ । बाँकी तीन खेल जितेको खण्डमा भने केही गणितीय सम्भावना रहनेछ । समूह ‘बी’ मा रहेको नेपालले ५ खेलबाट मात्र ३ अङ्क जोडेको छ ।

