उपत्यकामा संक्रमित घट्दै, अस्पतालमा खाली हुँदै आईसीयू र शैया

काठमाडाैँ । अहिले उपत्यकामा कोरोना संक्रमितको संख्या घटेसँगै राजधानीमा कोरोना संक्रमितको उपचार गरिरहेको मुख्य सरकारी अस्पतालमा शैय्या खाली हुन थालेको छ । टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा त्रिवि शिक्षण अस्पतालमा अक्सिजन सहितका शैय्या तथा आइसीयू पनि खाली भएका छन् ।

त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा.रामविक्रम अधिकारीका अनुसार विगत तीन दिनदेखि अस्पतालको आकस्मिक कक्षामा आएका कुनै बिरामी फिर्ता पनि नगरिएको र भर्नाका लागि नपर्खाइएको बताए ।

शिक्षण अस्पतालमा रहेका ५२ वटा आईसीयू बेड मध्ये पाँचवटा खाली रहेको भन्दै उनले कोभिडका बिरामीका लागि शैया र अक्सिजन पर्याप्त रहेको बताए । उनले झण्डै ३० फिट लामो अक्सिजन ट्याङ्क हालै जाडान भएको र यसले अक्सिजनको माग लगभग धान्ने जानकारी दिए ।

यसै गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा.अनुप बाँस्तोलाका अनुसार केही बिरामी भेन्टिलेटरमा र केही गम्भीर अबस्थाका बिरामी अझै अस्पतालमा भए पनि बिरामीको चाप भने घट्दै गएको छ । उनले केही दिन अघिसम्म बिरामीको बढ्दो चापका कारण शैया अभावमा कतिपय बिरामीलाई स्टेचर तथा अस्पतालको चौरमा समेत राखेर उपचार गर्नुपरेको बताउँदै अहिले गम्भीर अबस्थामा अस्पताल आउने विरामीको संख्यामा कमी आएको उल्लेख गरे ।

उनले अहिले आकस्मिक कक्षमा अक्सिजन सहितका शैय्या र भेन्टिलेटरहरू बिरामीका लागि उपलब्ध भएको बताउँदै अहिले नै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने कुरामा भने कुनै हालतमा सम्झौता गर्न नहुने कुरामा सचेत गराए । उनले एक सयवटा एचडीयू बेड मध्ये ८८ वटामा मात्र बिरामी रहेको र अहिले २४ आईसीयू र १७ भेन्टिलेटर खाली रहेको जनाए ।

त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरका प्रवक्ता अर्जुनप्रसाद भेटवालले अहिले सेन्टरमा शैया र अक्सिजन अभाव नरहेको बताए । त्यहाँ कोरोना संक्रमितको उपचारका लागि उपलब्ध दुई सय शैया मध्ये अहिले ८४ वटामा मात्र बिरामी रहेका छन् । साथै आईसीयू भेन्टिलेटमा बिरामीको चाप कम हुँदै गएको उनले बताए । अहिले अक्सिजन अभाव पनि नरहेको उनले दाबी गरेकाे समाचार गाेरखापत्रमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *