प्रज्जवल थापा । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपाल र इराक भिड्दैछन् । अल्फायहा रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १०ः१५ बजे शुरु हुनेछ ।
फिफा विश्वकप तथा एसिया कप छनोटको तयारीमा रहेका दुवै टोलीले आज मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । फिफा वरियता भने इराक नेपालभन्दा १ सय ३ औं स्थानमाथि छ । पछिल्लो वरियताका अनुसार इराक ६८ औं स्थानमा छ भने नेपाल १ सय ७१ औं स्थानमा छ ।
मैत्रीपूर्ण खेल र विश्वकप छनोट खेल खेल्नको लागि नेपाली टोली बुधबार नै इराक पुगेको थियो । मैत्रीपूर्ण खेल पश्चात् विश्वकप छनोट खेल खेल्नको लागि नेपाली टोली कुवेत जानेछ । पहिलो पटक नेपालको प्रशिक्षकको जिम्मेवारी समालेका विदेशी प्रशिक्षक अब्दुलाह अल्मुताइरी युवा टोली लिएर इराक पुगेका हुन् । अल्मुताइरीले थ्री नेसन्स कप विजेता टोलीबाट १३ खेलाडीलाई बाहिर राख्दै ६ नयाँ अनुहारलाई समावेश गरेर मैत्रीपूर्ण र छनोट खेल खेल्ने टोलीको घोषणा गरेका थिए ।
अल्मुताइरीको प्रशिक्षणमा नेपालको यो पहिलो खेल हुनेछ । नेपालको लागि इराक भने नौलो टिम हैन । यसअघि दुई टोलीबिच ३ खेल भएको थियो । तर तीनै खेलमा नेपाल पराजित भएको थियो । प्रशिक्षकले आजको खेलमा नतिजामा भन्दापनि प्रदर्शनमा जोड दिने बताएका छन् ।
नेपालको विश्वकप छनोटको अर्को चरण खेल्ने सम्भावनामा लगभग सकिसकेको छ । बाँकी तीन खेल जितेको खण्डमा भने केही गणितीय सम्भावना रहनेछ । समूह ’बी’ मा रहेको नेपालले ५ खेलबाट मात्र ३ अङ्क जोडेको छ । नेपालले अब चाइनिज ताईपेस, जोर्डन र अष्ट्रेलियासँग खेल्न बाँकी रहेको छ ।
अब नेपालले चाइनिज चाइपेइसँग जुन ३ मा खेल्नेछ भने जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियाको सामना गर्नेछ ।
