संविधानलाई बचाउने र सही दिशामा ल्याउन भूमिका खेल्छुः सांसद देवकोटा

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देवकोटालाई शपथ खुवाएका हुन् । त्यसक्रममा तिमिल्सिनाले देवकोटालाई सङ्घीय सांसद्को प्रतीक चिह्नसमेत प्रदान गरे ।

शपथपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सही दिशामा ल्याउन आफ्नो भूमिका हुने बताएका छन् । उनले संविधानतः प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भएपनि संसदलाई छलेर पटक पटक विघटन गरिएकाले संविधानलाई मास्ने र सिध्याउने खेल भएको बताए ।

संविधानलाई सबै मिलेर बचाउनुपर्ने भन्दै उनले आफ्नो भूमिका संविधानलाई बचाउन र संविधानलाई सही दिशामा ल्याउनका लागि हुने बताए । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्दै देवकोटाले संविधानलाई सही दिशामा ल्याउनका लागि प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताए ।

संविधानतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६(५) अनुसार दाबी गरिसकेपछि देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरिनुपर्नेमा त्यसो नगरी संविधानभन्दा बाहिर गएको उनले बताए ।

वाग्मती प्रदेशमा जेठ ६ गते सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा उनी निर्वाचित भएका थिए । तत्कालीन गृहमन्त्री एवं नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै पाँच हजार ८८ मतभार प्राप्त गरी सङ्घीयताविद् डा देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *