काठमाडौं । सरकारले चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको भूमिसुधार तथा व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । ती देशहरुमा हप्ताको एक दिन उडान हुने छ ।
पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान खुला गर्ने प्रस्ताव आजको मन्त्रिपरिषद बैठकमा लगेको थियो । वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० मा आन्तरिक र २३ गते रातिदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । आन्तरिक उडान खोल्नेबारे भने कुनै निर्णय भएको छैन ।
हाल नियमित उडान बन्द हुँदा चार्टर उडान मात्र हुँदै आएको छ । नेपाल आउने यात्रुका लागि विभिन्न सर्त राखिएको छ । दुवै खोप लगाएको र कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको यात्रुलाई १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी नेपाल आउन दिइनेछ।
