भिल्लारियललाई युरोपा लिगको उपाधि

प्रज्जवल थापा । स्पेनिस क्लब भिल्लारियलले युईएफए युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा भिल्लारियलले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई सडन डेथमा ११-१० ले पराजित गर्दै पहिलो पटक युरोपा लिगको उपाधि उचालेको हो ।

पोल्यान्डमा भएको खेलमा निर्धारित ९० मिनेटमा र अतिरिक्त समयमा १-१ गोलको नतिजा आएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो । पेनाल्टी सुटआउटमा शुरुवाती २० खेलाडीलेनै गोल गरेपछि गोलकिपरले पेनाल्टी प्रहार गरेका थिए । भिल्लारियलका गोलकिपर गेरोनिमो रुलीले गोल गर्दै युनाइटेडका किपर डेभिड डि जियाको पेनाल्टी रोकेपछि भिल्लारियल च्याम्पियन भएको हो ।

यसअघि पेनाल्टीमा भिलारियलको लागि जेरार्ड मोरिनो, डानी राबा, पाको अल्कासेर, अल्बेर्टो मोरेनो, डानी पारेजो, मोइ गोमेज, राहुल अल्बिओल, फ्रान्सिस कोकुएलिन, मारियो गास्पार पाउ टोरेसले गोल गरेका थिए । युनाइटेडको लागि जुआन माटा, एलेक्स टेल्लेस, ब्रुनो फर्नान्डेज, मार्कोस रासफोर्ड, एडिन्सन काभानी, फ्रेड, डानियल जेम्स, लुके सह, एक्सल टुआन्जाबे र भिक्टोर लिन्डेलोफले गोल गरे ।

स्टाडियोन इनेर्गामा भएको खेलमा भिल्लारियलले शुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको २९ औं मिनेटमा डानियल पारेजोको पासमा मोरेनोले गोल गर्दै स्पेनिस क्लबलाई खेलमा अगाडि बढाएका थिए । ५५ औं मिनेटमा म्याकटोमिनेको पासमा काभानीले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याएका थिए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमापनि थप गोल नहुँदा विजेताको टुङ्गो पेनाल्टी सुटआउटबाट भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *