काठमाडाैँ । डायलाइसिसको उचित प्रबन्ध नहुँदा कलाकार आदर्श मिश्राका बाबुको निधन भएको समाचारले देशकै ध्यान तानिएको छ । विनोदलाई बचाउन आदर्शको परिवारले गरेको अथक संघर्ष वियोगमा सकिएको छ । तर, देशको दुःखान्त अझै जारी छ । किनकि देशको स्वास्थ्य प्रणाली असंवेदनशील हुँदा १५ हजार परिवार मिर्गाैला प्रत्यारोपण र डायलाइसिसको पर्खाइमा पिल्सिएका छन् ।
देशमा मिर्गाैलाका करिब ८५ हजार बिरामी भएको सरकारी तथ्यांक छ । त्यसमध्ये १५ हजार नियमित डायलाइसिसमा छन् । त्यसमध्ये पनि पाँच हजार आठ सय ९६ जनालाई विपन्न भएको भनेर सरकारले नै सूचीकृत गरेको छ । तर, डायलाइसिसलाई व्यवस्थित गर्न र प्रत्यारोपणको गति बढाउन सरकारले पहल गरेको छैन । विपन्न बिरामीले उपचार पाउन सक्ने वीरमा त प्रत्यारोपण नै अवरुद्ध छ ।
बिरामीका लागि यो जीवन–मरणको विषय हो, तर सरकारका लागि खेलबाड । सरकार यो विषयमा संवेदनशील हुन्थ्यो भने वीरजस्तो विपन्नको सहारा अस्पतालमा मिर्गौला प्रत्यारोपण बन्द हुने थिएन । हो, अहिलेसम्म डेढ सय मिर्गौला प्रत्यारोपण गरेको वीरमा डेढ वर्षदेखि प्रत्यारोपण बन्द छ ।
१३ वर्षअघि २००८ डिसेम्बरदेखि वीरले नेपालमा पहिलोपटक मिर्गौैला प्रत्यारोपण सेवा सुचारु गरेको हो । डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा सन् २०१२ सम्म आइपुग्दा ९९ वटा प्रत्यारोपण भइसकेका थिए । त्यही वेला भक्तपुरमा ‘मानव अंग प्रत्यारोपण केन्द्र’ स्थापना भएपछि डा. पुकारलाई सरुवा गरिएको थियो । त्यसपछि आठ वर्षमा वीरमा ५५ जनाको मात्र मिर्गौैला प्रत्यारोपण भयो । तर, सेवा बढाउनुपर्नेमा प्रत्यारोपण नै ठप्प गरिएको छ ।
वीरमा आठ वर्षमा ५५ प्रत्यारोपण भए भने त्यही अवधिमा भक्तपुरमा सात सयभन्दा बढी प्रत्यारोपण भएका थिए । डा. पुकारलाई सरकारले अघिल्लो वैशाखमा वीरमा ल्याएको हो । तर, एक वर्षसम्म प्रयास गर्दा पनि प्रत्यारोपणको जिम्मेवारी नपाएकोमा उनी दुःखी छन् ।
‘प्रत्यारोपणका लागि आवश्यक उपकरणहरू थन्किएका छन्, केही आवश्यक भए थप्न पनि सकिन्छ, हामी डाक्टर अस्पताल आउने, हाजिर गर्ने, चिया खाने र फर्कने काम मात्र छ, उता प्रत्यारोपणका लागि बिरामीहरू विभिन्न अस्पताल धाउन बाध्य छन् । यो विडम्बनापूर्ण अवस्था छ,’ उनी भन्छन् ।
वीरमा सन् २००८ मा दोस्रो प्रत्यारोपण गर्दा डा. पुकारको नेतृत्वमा, डा. विजयकुमार शर्मा, डा. दामोदर पोखरेल र भारतबाट सहयोगका लागि आएका सन्दीप गुलेरिया सहभागी थिए । त्यस्तै, नेफ्रोलोजिस्टको रूपमा डा. राजेन्द्र अग्रवाल र डा. रजनी हाडाले सहयोग गरेका थिए । हाडा अहिले वीर अस्पताल युरोलोजी विभागकी प्रमुख छिन् ।
डा. हाडा वीरमा प्रत्यारोपण फेरि सुरु गरेर दुःख पाउने पक्षमा आफू नरहेको बताउँछिन् । ‘मिर्गौला प्रत्यारोपण गर्ने विषय उठेको छ । तर, म चुप लागेर बसेकी छु । चिकित्सक पनि छैनन्, उपकरण पनि छैन, ठाउँ पनि छैन,’ उनले भनिन्, ‘आगामी पुसमा म रिटायर्ड हुँदै छु । योबीचमा सेवा सुरु हुने अवस्था छैन ।’
वीरमा अहिले पनि हरेक दिन मिर्गौलाका करिब ७० बिरामी आउँछन् । तर, डा. हाडा नै बिरामी नभएकाले प्रत्यारोपण अघि बढाउन नसकिएको बताउँछिन् । ‘बिरामी भएमा सातामा एउटा प्रत्यारोपण गर्दै आएका थियौँ । प्रत्यारोपण गर्ने बिरामी नपाएकाले वीरको सेवाले गति लिन नसकेको हो । महिनामा चारजनाको प्रत्यारोपण गर्ने क्षमता थियो । बिरामी नपाएर कति समय त्यसै बित्ने गथ्र्यो । अहिले वीरमा प्रत्यारोपण गर्न बिरामी पनि आएका छैनन्, हामीले पनि गराएका छैनौँ,’ उनले भनिन् ।
संसारभरका मेडिकल कलेजले अनुसन्धान र उपचारमा नयाँ–नयाँ उदाहरण स्थापना गर्छन् । तर, डा. हाडाको भने अनौठो तर्क छ । ‘वीर भनेको शैक्षिक संस्था हो, यहाँ नियमित प्रत्यारोपण उपयुक्त हुँदैन । फेरि प्रत्यारोपण भनेको मिर्गौला जोड्ने काम मात्र होइन । नेफ्रोलोजी चिकित्सक एकजना बिरामीको पछि डेढ महिनासम्म लाग्नुपर्छ, हामी अहिले त्यो गर्न सक्दैनौँ,’ उनले भनिन् ।
उता डा. पुकार भने प्रशासनको अनुमति पाए आफूले तीन महिनामा नै वीरमा प्रत्यारोपण सुरु गर्न सक्ने बताउँछन् । ‘अस्पतालले डाक्टरलाई जागिर दिने, तलब दिने, तर काम गर्न नदिने ? मैले त ओपिडीका बिरामीसमेत हेर्न पाएको छैन,’ उनी भन्छन्, ‘विपन्न बिरामीमाथि ठूलो धोका भइरहेको छ । मलाई जिम्मेवारी दिए तीन महिनामा पूर्ण रूपमा प्रत्यारोपण सेवा चलाएर देखाउँछु । कृपया बिरामीको जीवन रक्षा गर्न पाऊँ भन्दा पनि पाएको छैन ।’
डा. पुकारले न्याम्सका उपकुलपति डा. डिएन साह र मन्त्रालयका अधिकारीहरूलाई पनि भेटेर गुनासो गरेको सुनाए । हरेक प्रत्यारोपणबापत सरकारले दिने करिब साढे पाँच लाख अनुदान बिरामी हुँदै अस्पताल आइपुग्छ । त्यो पैसाले बिरामीको ज्यान बच्ने र अस्पताललाई आर्थिक आम्दानी हुने उनको तर्क छ । ‘सेवा सञ्चालन गर्न दिए सातामा चारवटा प्रत्यारोपण गर्न सकिन्छ । मिर्गौला प्रत्यारोपणबापत वर्षमा चार करोड रुपैयाँ अस्पताललाई आम्दानी गराउन सकिन्छ,’ उनको यो प्रस्तावको सुनुवाइ भएको छैन ।
न्याम्सका उपकुलपति डा. डिएन साह भने प्रत्यारोपण सुरु गर्ने पक्षमा भए पनि अहिले पूर्वाधार अभाव भएको गुनासो गर्छन् । ‘मिर्गौला प्रत्यारोपण गर्न नदिने पक्षमा अस्पताल छैन । अझ डा. पुकारचन्द्र श्रेष्ठ त एक राम्रो प्रत्यारोपण शल्यचिकित्सक हो । उहाँ काज फिर्ता भएर वीरमा आउनुभएको लामो समय भयो, तर सेवा सञ्चालन हुन सकेको छैन । प्रत्यारोपणका लागि आवश्यक पर्ने पूर्वाधार व्यवस्थापन नभएका कारण ढिला भएको हो,’ उनी भन्छन् । वीरको नयाँ सर्जिकल भवन तयार भएपछि उहाँलाई सेवा सुरु गर्न दिने सोच भएको उनी बताउँछन् । जब कि उपचार नपाएर बिरामीले हरेक दिन र हरेक मिनेट कष्टपूर्ण रूपमा काटिरहेका छन् ।
नेपालमा हरेक वर्ष करिब तीन हजारको मिर्गौला फेल हुने गरेको सरकारी अनुमान छ । सबैको नसके पनि ५० प्रतिशत अर्थात् १५ सयजनाको प्रत्यारोपण गर्न सके ठूलो उपलब्धि हुने उनको बुझाइ छ । तर, सरकारी अस्पतालमा अहिले भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र र शिक्षण अस्पतालमा मात्र प्रत्यारोपण हुन्छ ।
वीरमा छुट्टै सर्जिकल भवन भएकाले भक्तपुरमा भन्दा धेरै बिरामीको प्रत्यारोपण गर्न सकिने उनको भनाइ छ । ‘हरेक दिन बिरामी आउँछन्, बचाइदिनोस् डाक्टर साव भन्छन्, तर मेरा हात बाँधिएका छन्,’ डा. पुकार भन्छन् ।
यदि सरकारी अस्पतालले भएको उपकरण मात्रै प्रयोग गरेर मिर्गौला प्रत्यारोपण सुचारु गरेमा वार्षिक अर्र्बौँ रुपैयाँ बच्ने बताउँछन्, डा. श्रेष्ठ । भन्छन्, ‘अहिले आधाभन्दा धेरै बिरामी उपचारका लागि भारत गइरहेका छन्, विपन्न नागरिक निजीमा उपचार गर्न नसकेर मरिरहेका छन् । अहिलेको समयमा कोभिडका कारणले केही अप्ठ्यारो भइरहेको छ, तर अघिल्लो लकडाउनपछि मात्रै पनि वीरमा सेवा उपलब्ध भएको भएमा कम्तीमा सयजनालाई सेवा दिन सकिन्थ्यो ।’ याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।
