‘हेपाहा शैली भएका र कपटीलाई साथी नबनाउ’ भन्ने बुद्धदर्शन महत्वपूर्णः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मानव जातिका आदर्श, बौद्ध धर्मका प्रणेता एवं शान्तिका प्रतिमूर्ति गौतम बुद्धको २५६५ औँ जन्मजयन्तिका अवसरमा बौद्धधर्मी एवं समस्त शान्तिप्रेमी नेपालीहरुमा शुभकामना दिएका छन् ।

बुधबार विज्ञप्तिमार्फत वरिष्ठ नेता नेपालले गौतम बुद्धको त्रिसंयोग (जन्म¸ ज्ञान प्राप्ति र महापरिनिर्वाण) परेकाले आजको विशेष रहेको बताएका छन् । उनले बुद्धको त्याग, तपश्या, निष्ठा र ज्ञान जीवनका लागि महत्वपूर्ण मन्त्र एवं जीवन दर्शन भएको बताएका छन् ।

उनले भनेका छन्, ‘जीवनमा उच्च नैतिकता, अनुशासन, न्याय र निष्ठा, निरन्तरता, इमान्दारिता, अनुशाशित शैली, पीडितहरुको पक्षधरता आदि बुद्धदर्शनमा आधारित महत्वपूर्ण मन्त्रहरु हुन् । बुद्धवाणीमा भनिए जस्तै अहिंसा, शान्ति, सत्यता र सरलता सबैभन्दा महत्वपूर्ण दर्शन हुन् । यसैगरी कुनै पनि कुरालाई यत्तिकै विश्वास नगर, हेपाहा शैली भएका र कपटीलाई साथी नबनाउ, सही बाटो आवलम्बन गर र आफ्नो बाटोमा निरन्तर अघि बढिराख जस्ता मार्गदर्शन महत्वपूर्ण छन् ।’

नेता नेपालले बहुधार्मिक, बहुसांस्कृतिक नेपाली समाजमा सहिष्णुता र आपसी सद्भाव एवं एकता कायम गर्न बुद्धमन्त्र महत्वपूर्ण हुने विश्वास लिएका छन् ।

बुद्धवचनमा स्वास्थ्य र जीवनलाई महत्वपूर्ण पक्षका रुपमा उल्लेख गरिएको भन्दै नेता नेपालले कोरोनाको दोस्रो लहरका कारण माहामारी फैलिरहेका बेला हामीले भौतिक दूरी कायम राख्दै भविष्यमा आउन सक्ने स्वास्थ्य संकटबाट मुक्त हुन सकौं भनी शुभकामना दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *