प्रज्जवल थापा । युईएफए युरोपा लिगको उपाधिको लागि आज स्पेनिस क्लब भिल्लारियल र इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड भिड्दैछन् । स्टाडियोन इनेर्गा गडान्स्कमा हुने फाइनल खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।
दुवै टोली आज हुने फाइनल खेल जित्दै उपाधि उचाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । भिल्लारियल आजको खेल जित्दै पहिलो युरोपा जित्ने लक्ष्यमा हुनेछ । भिल्लारियलले सेमिफाइनल खेलमा इङ्लिस क्लब आर्सनललाई समाग्रमा २-१ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । भिल्लारियलको यो पहिलो युरोपा फाइनलपनि हो ।

भिल्लारियल लिगको अन्तिम खेलमा रियल म्याड्रिडसँग २-१ गोलले पराजित हुँदै सातौं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । भिल्लारियलले आफ्नो पछिल्लो ५ खेलमा २ जित, १ बराबर र २ हारको नतिजा निकालेको छ ।
यता २०१७ को विजेता युनाइटेडपनि आजको फाइनल जित्दै दोस्रो युरोपाको उपाधि उचाल्न चाहन्छ । प्रिमियर लिगमा दोस्रो स्थानमा रहँदै सिजनको अन्त्य गरेको युनाइटेड आजको खेलमा उच्च मनोबलका साथ मैदान उत्रिनेछ ।

सेमिफाइनल खेलमा युनाइटेडले इटालियन क्लब रोमामाथि ८-५ गोलको शानदार जित हात पारेको थियो । आईतबार भएको लिगको अन्तिम खेलमा वोल्भ्सलाई पराजित गरेको युनाइटेडले आफ्नो पछिल्लो ५ खेलमा २ जित, १ बराबर र २ हारको नतिजा निकालेको थियो ।
दुई टोलीबिच भएको पछिल्लो ४ भेटमा कुनै टोलीले जित निकाल्न सकेका छैनन् ।
