माधव नेपालसहित ११ नेतालाई पार्टीबाट निस्कासन गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेमध्ये पार्टीका ११ नेतालाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, डा. भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्कालाई पार्टीविरूद्ध गतिविधि गरेकोमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नदिएकाले पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन्।

त्यस्तै बैठकले घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे,भवानी खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडासहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

बैठकले सुदूर पश्चिम प्रदेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने तथा मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *