USAID

तीन लिगमा उच्च गोलकर्ताको अवार्ड जित्ने रोनाल्डो पहिलो खेलाडी


एजेन्सी । युभेन्टसका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले इटालियन लिग सिरि ए को उच्च गोलकर्ताको रुपमा २०२०/२१ सिजनको अन्त्य गरेका छ्न् । यससँगै रोलाल्डो प्रिमियर लिग, ला लिगा र सिरि ए मा उच्च गोलकर्ताको अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् ।

३६ वर्षिय रोनाल्डोले युभेन्टसको लागि यस सिजन २९ गोल गरेका हुन् । पछिल्लो ९ वर्ष लगातार घरेलु लिगको उपाधि जितेको युभेन्टसले यस पटक भने सिरि ए को उपाधि इन्टर मिलानलाई सुम्पेको हो । आइतबार राति भएको अन्तिम खेलमा बोलोग्नालाई ४-१ गोल अन्तरले पराजित गर्दै युभेन्टसले चौथो स्थानमा रहेर लिगको अन्त्य गरेको हो ।

इटालीमा तेस्रो वर्ष बिताइरहेका रोनाल्डोले उच्च गोलकर्ताको अवार्ड भने पहिलो पटक जितेका हुन् । यसअघि रोनाल्डोले पहिलो सिजनमा २१ र दोस्रो सिजनमा ३१ गोल गरेपनि अवार्ड जित्न सकेका थिएनन् । समाग्रमा रोनाल्डोले सिरि ए मा ९७ खेल खेल्दै ८१ गोल गरिसकेका छन् । यस्तै रोनाल्डो लगातार दोस्रो वर्ष सिरि ए को उत्कृष्ट खेलाडीपनि घोषित भएका छन् ।

यसअघि रोनाल्डोले २००७/०८ सिजनमा प्रिमियर लिगमा सार्वधिक गोल गरेका थिए । उक्त सिजन म्यान्चेस्टर युनाइटेडलाई घरेलु लिग र च्याम्पियन लिग जिताउन महत्त्वपूर्ण भुमिका खेलेका रोनाल्डोले लिगमा ३१ गोल गर्दा समाग्रमा ४२ गोल गरेका थिए । सोही सिजनमा रोनाल्डोले पहिलो बेलोन डि’ओर अवार्डपनि जितेका थिए ।

यस्तै रोनाल्डोले ला लिगामा ३ पटक उच्च गोलकर्तालाई दिइने पिचिची अवार्ड जितेका थिए । उनले २०१०/११, २०१३/१४ र २०१५/१६ सिजनमा पिचिची अवार्ड हात पारेका थिए । रोनाल्डोले रियल म्याड्रिडबाट ४ सय ३८ खेल खेल्दै ४ सय ५० गोल गरेका थिए ।

पोर्चुगिज फर्वार्ड रोनाल्डो च्याम्पियन्स लिग इतिहासको पनि उच्च गोलकर्ता हुन् । उनले च्याम्पियन्स लिगमा १ सय ३४ गोल गरेका छन् । उनले च्याम्पियन लिगमा ७ पटक उच्च गोलकर्ताको अवार्ड हात पारेका छन् । यस्तै रोनाल्डोले चारपटक युरोपियन गोल्डेन बुट जितेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *