जसपामा कारबाही होडबाजी

काठमाडौं । फुटनजिक पुगेको जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किंदै गएपछि एकअर्कोलाई कारबाही र निर्णय अवज्ञा गर्ने होडबाजी नै चल्न थालेको छ । सरकार निर्माण विषयलाई लिएर पार्टीशीर्ष नेता दुई समूहमा विभाजित भएपछि आन्तरिक विवाद चर्किंदै गएको हो ।

विवाद उत्कर्षमा पुगेकै बेला एकाले अर्को पक्षलाई कारबाही र अर्को पक्षले निर्णय अवज्ञा गर्नेक्रम बढेको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता एवं संसदीय दलका नेता राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्दै अघि बढिरहेका छन् ।

तर, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई समूह विपक्षी गठबन्धनसँग सहकार्य गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा सहभागी छन् ।

पार्टीशीर्ष नेता नै दुई समूहमा विभाजित भएपछि जसपा फुट्ने सम्भावना बढेर गएको छ । फुटनजिक पुगेको जसपा अध्यक्ष यादव समूहले पार्टी नेतालाई कारबाही गर्ने निर्णयसमेत गरेको छ ।

यादव समूह कार्यकारिणी समिति बैठकले पार्टी हितविपरीत कार्यमा संलग्नलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिएका छन् ।

पार्टी नीति, सिद्धान्त, विचार, एजेन्डा, विधान र कार्यदिशाविपरीत कार्य गर्दै/गराउँदै हिँड्ने अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, कार्यकारिणी समिति सदस्यद्वय लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधिएको छ । त्यस्तै, ‘प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने स्पष्ट गरिएको’ खतिवडाले बताए ।

उनका अनुसार पार्टीविरोधी गतिविधिमा संलग्न अन्यबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारबाही प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ ।

शनिबार र आइतबार बसेको बैठकले पार्टी कार्यकारिणी समिति बैठक बोलाउने र निर्णय प्रमाणितलगायत अधिकार अध्यक्ष यादवलाई दिने निर्णय गरेको छ । बैठकले पार्टी संसदीय दलको विधान अझै अनुमोदन नगरेकाले ‘कोही पनि दलको नेता चयन भएको खबर अफवाह भएको’ पनि जनाएको छ ।

यसैगरी, कर्ण र शुक्ल सदस्य रहेको कुनै कार्यदल नबनाइएको पनि स्पष्ट पारिएको छ । ठाकुर र महतो समूहले सरकारसँगको सहमतिअनुसार कर्ण र शुक्ल सदस्य रहनेगरी संविधान संशोधन कार्यदल गठन गराएपछि यादव समूहले कुनै कार्यदल नबनेको जनाएको छ ।

निर्णय अमान्य: ठाकुर

यसैबीच, जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले गरेको निर्णय अमान्य हुने बताएका छन् । ठाकुर पक्षले पार्टी कार्यकारिणी समिति बैठक स्थगित गरिएको जानकारी गराउँदै यादव पक्षले गरेको निर्णय अमान्य हुने जनाएको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक ८ र ९ जेठका लागि बोलाइएको थियो । तर, ठाकुर पक्षले बैठक स्थगित गरे पनि यादव पक्षले बैठकलाई निरन्तरता दिने निर्णय गर्दै दुई दिन बैठक गर्दै विभिन्न निर्णय गरेको छ ।

‘अतः जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको भनिएको बैठक र त्यसको कथित बैठकबाट गरिने सबै निर्णय अमान्य हुने बेहोरा निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ,’ ठाकुरले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *