काठमाडौं । प्रतिनिधिसभा विघटन र चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन् ।
शनिबार बसेको पाँच दलीय गठबन्धनको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरेको थियो । बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने निष्कर्ष निकालेको थियो ।
राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी विधिसम्मत नभएकोभन्दै खारेज गरेकी थिइन् । त्यसपछि मन्त्रिपरिषद् बैठकको सिफारिसमा संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।