एथ्लेटिकोलाई ला लिगाको उपाधि

प्रज्जवल थापा । एथ्लेटिको म्याड्रिडले स्पेनिस लिग ला लिगाको उपाधि जितेको छ । शनिबार राति भएको लिगको अन्तिम खेलमा एथ्लेटिको म्याड्रिडले रियल भालाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्दै आठ वर्षपछि घरेलु लिगको उपाधि जितेको हो ।

पहिलो हाफमा एक गोलले पछि परेको एथ्लेटिकोेले दोस्रो हाफमा दुई गोल गर्दै पुनरागमन जित निकालेको हो । एथ्लेटिकोलाई जित दिलाउन एन्जल कोरेरा र लुइस सुवारेजले एक/एक गोल गरे । भालाडोलिडको लागि ओस्कार प्लानोले एक गोल गरे । पहिलो हाफको १८ औं मिनेटमा मार्कोसको पासमा ओस्कारले गोल गर्दै भालाडोलिडलाई खेलमा अगाडि बढाएका थिए ।

५७ औं मिनेटमा कारास्कोको पासमा कोरेराले गोल गर्दै एथ्लेटिकोलाई बराबरीमा ल्याए । ६७ औं मिनेटमा सुवारेजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा एथ्लेटिको २-१ गोलले विजयी भएको हो ।

जितसँगै एथ्लेटिको म्याड्रिडले ११ औं पटक घरेलु लिगको उपाधि जितेको छ । एथ्लेटिको ३८ खेलबाट ८६ अङ्क जोड्दै च्याम्पियन भएको हो । हारसँगै भालाडोलिड दोस्रो डिभिजमा घटुवा भएको छ ।

यस्तै रियल म्याड्रिडले ३८ खेलबाट ८४ अङ्क जोड्दै दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ । रियल म्याड्रिडले अन्तिम समयमा भिल्लारियलमाथि २-१ गोलको उत्कृष्ट पुनरागमन जित निकालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *