कैलालीको लम्कीचुहा अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिने

धनगढी । दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण अक्सिजनको अभावमा ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेपछि कैलालीको लम्कीचुहा नगरपालिकाले मिनी अक्सिजन प्लान्ट जडान गर्ने भएको छ ।

नगरपालिकाले लम्कीचुहा अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गर्ने भएको हो । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अक्सिजन नपाएर नगरवासीको अकालमा ज्यान नजाओस् भन्ने हेतुले नगरपालिकाको पहल र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा अक्सिजन प्लान्ट निर्माण गरिन लागिएको नगरप्रमुख महादेव बजगाईंले जानकारी दिए ।

नगरपालिकाले सामाजिक विकास मन्त्रालयलाई अक्सिजन प्लान्ट जडानका लागि आवश्यक बजेट विनियोजनको माग गर्दै यही जेठ २ गते सामाजिक विकास मन्त्रालयमा पत्राचार गर्दै आवश्यक पर्ने थप रकम ५० लाख बजेट माग गरिएकामा तत्कालका लागि १५ लाख निकासा हुने नगरप्रमुख बजगाईंले बताए ।

करीब न्यूनतम ३० देखि बढीमा ५० लाख रकमले मिनी अक्सिजन प्लान्ट निर्माण गर्ने लक्ष्य राखेको जनाउँदै नगरप्रमुख बजगाईंले त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाइने बताए । लगत्तै काम शुरु गरी अक्सिजन मेशिन खरीदका लागि बोलपत्रलगायतको प्रक्रिया शुरु गरिने उनले जानकारी दिए ।

‘हाम्रो गोदावरी, हाम्रो अभियान’ शुरु

नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमणका कारण श्वासप्रश्वासमा समस्या भई अक्सिजनको अभावमा ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि कैलालीको मालाखेती अस्पतालका लागि अक्सिजन कन्सन्ट्रेटर खरीद गर्न स्थानीयस्तरमा ‘हाम्रो गोदावरी, हाम्रो अभियान’ शुरु गरिएको छ ।

अभियानबाट मालाखेती अस्पताललाई १० अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने लक्ष्य लिइएको दुर्गाप्रसाद अधिकारीले बताए । कोरोना भाइरसको महामारीले अत्तरियामै रहेको मालाखेती अस्पतालमा सृजित अक्सिजन अभावलाई कम गर्न स्थानीय युवाले अभियान शुरु गरेका छन् । अभियानको शुरुवातमै सबैको राम्रो प्रतिक्रिया पाएका कारण हौसला बढेको अधिकारीले बताए ।

उनले अक्सिजन अभावकै कारण यहाँका कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेकाले उक्त अभियान थालिएको बताए । “देशभरि अक्सिजनको हाहाकार छ, सङ्क्रमितलाई अक्सिजन उपलब्ध गराउन गरिएका प्रयासहरू पनि असफल हुन थालेका छन्”, अधिकारीले भने, “यस्तो अवस्थामा कोभिडका गम्भीर प्रकृतिका बिरामीको जीवनरक्षाका लागि अहिलेको उचित उपाय एक मिनेटमा १० लिटर अक्सिजन उत्पादन गर्न सक्ने अक्सिजन कन्सन्ट्रेटर नै हो ।”

उक्त मेशिनको मूल्य आजका दिनसम्म प्रतिथान एक लाख ३० हजार रहेको र १० थान मेशिनको मूल्य १३ लाख आवश्यक हुने र त्यहीअनुसार अभियान थालिएको उनले बताए । पहिलो दिनको अभियानमार्फत चार लाख सङ्कलन भएको अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *