प्रज्जवल थापा । बार्सिलोनाको महिला टोलीले युईएफए वुमेन्स च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले चेल्सी वुमेन्सलाई ४-० गोल अन्तरले पराजित गर्दै पहिलोपटक वुमेन्स च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
गाम्ला उल्लेभी रंगशालामा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन अलेक्सिया पुटेल्लास, आइटाना बोन्माटी र कारोलिने ग्रहाम हान्सेनले एक/एक गोल गर्दा एक गोल भने उपहार पाएको थियो । बार्सिलोनाले सबै गोल पहिलो हाफमा गरेको हो । खेलको पहिलो मिनेटमै चेल्सीकी मेलानी लेउपोल्जले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनाले खेलमा अग्रता लिएको थियो ।

१४ औं मिनेटमा अलेक्सिया पुटेल्लासले पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाइन् । चेल्सीकी मिडफिल्डर लेउपोल्जले पेनाल्टी क्षेत्रमा जेन्निफेर हेर्मोसोलाई लडाएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । २१ औं मिनेटमा आइटाना बोन्माटीले गोल गर्दै बार्सिलोनालाई खेलमा ३-० गोलले अगाडि बढाइन् । ३६ औं मिनेटमा हान्सेनले गोल गरेपछि बार्सिलोना वुमेन्सले पहिलो हाफमै ४-० गोलको अग्रता लिएको थियो ।
दोस्रो हाफमा चेल्सीले सुधारिएको प्रदर्शन गरेपनि गोल गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । जितसँगै बार्सिलोनाले पहिलो युईएफए वुमेन्स च्याम्पियन्स लिगको उपाधि जितेको छ । यससँगै दुवै पुरुष र महिला टोलीले च्याम्पियन्स लिग जित्ने बार्सिलोना पहिलो क्लबपनि बनेको छ । यसअघि सन् २०१९ मा लियोनसँग फाइनलमा ४-१ गोलले पराजित भएसँगै बार्सिलोना वुमेन्स पहिलो च्याम्पियन्स लिग उपाधिबाट बन्चित भएको थियो ।
