काठमाडौं । नेपालमा थप ७३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा १९५०० जनामा गरिएको पीसीआर परीक्षणमा थप ७३१६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ६६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । आइसोलेसनमा ११०२६३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा ७०१ जना रहेका मन्त्रालयले जनाएको छ ।
उपत्यकामा दुई हजार ६०९ सङ्क्रमित
काठमाडौँ उपत्यकामा पछिल्लो समय दुई हजार ६०९ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा एक हजार आठ सय ८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको संख्या २९ हजार ६५ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ३२ हजार ८१५ निको भएका छन् भने एक हजार १३८ सङ्क्रमितको मृत्यु भएको छ ।
यस्तै ललितपुरमा हाल सात हजार ११८ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म २० हजार ३४१ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट ३०४ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै भक्तपुरमा चार हजार ९७८ सक्रिय सङ्क्रमित छन् । निको हुनेको संख्या ११ हजार ३४३ रहेको छ भने २२१ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । पछिल्लो समय कोरोनाबाट १४५ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच हजार एक पुगेको मन्त्रालयले जनाएको छ ।
