धनगढी । सुदूरपश्चिमस्थित सीमा नाकाहरुमा भारतबाट फर्किने नेपालीको भीड घटेको छैन । रोजगारीका लागि भारत पसेका नेपाली चैत मध्यदेखि घर फर्किने क्रम बढेको हो । पछिल्लो १५ दिनको तथ्यांकले गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक सरदर १३ सय नेपाली स्वदेश फर्किरहेको देखाउँछ ।
प्रहरी तथ्यांकअनुसार समीक्षा अवधिमा १८ हजार ३१ जना यी दुई नाका भएर घर फर्किएका छन् । यो संख्या दिनको १२ सय ६२ आउँछ । वैशाख देखि ३१ गतेसम्म गौरीफन्टा नाकाबाट मात्रै १४ हजार ८६ नेपाली भारतबाट फर्किएका छन् ।
कञ्चनपुरको गड्डाचौकी नाका भएर ४ हजार ८ सय ४५ नेपाली स्वदेश फर्किएका छन् । ‘भारतमा चैत मध्यतिर कोरोनाको दोस्रो भेरियन्ट फैलिएपछि नेपालीहरु स्वदेश फर्किने क्रम सुरु सुरु भएको हो’, कञ्चनपुर र कैलालीको सीमानासँग जोडिएको गौरीफन्टा नाकाका हेन्थ डेस्क प्रमुख गणेशबहादुर साउदले भने, ‘चैते दशैँ र नयाँ वर्ष सुरु हुनुभन्दा केही दिनअघि त दैनिक ६र७ हजार मानिस आए । तर त्यो क्रम अहिले पनि रोकिएको छैन ।’ यो समाचार अन्नपूर्णपोस्ट दैनिकमा छापिएको छ ।
