प्रज्जवल थापा । काठमाडौं रेजर्सले पहिलो संस्करणको फ्रेन्चाइज फूटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग(एनएसएल) को उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा काठमाडौंले धनगढी एफसीलाई १-० गोल अन्तरले हराउँदै च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले एक गोल गरे । मेसौकेले पहिलो हाफको २२ औं मिनेटमा विश्वास श्रेष्ठको पासमा गरेको गोल नै काठमाडौंको जितमा निर्णायक बन्यो । बाँकी समयमा दुवै टोलीले थप अवसर पाएपनि सदुपयोग गर्न नसक्दा काठमाडौं १-० गोलले विजयी भएको हो ।

समुहचरण र प्लेअफमा भोगेको हारको बदला लिँदै काठमाडौं च्याम्पियन बनेको हो । च्याम्पियन काठमाडौंले ट्रफीसहित ३५ लाख रुपैयाँ हात पारेको छ । उपविजेता धनगढीले १५ लाखमा चित्त बुझाएको छ ।
अखिल नेपाल फूटबल संघ(एन्फा) को प्रविधिक सहयोगमा नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको लिगमा सात टोलीको सहभागिता रहेको थियो । सहभागि टिममा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, विराटनगर एफसी र पोखरा थन्डर्स रहेका थिए ।
तस्बिर:- काठमाडौं रेजर्स फेसबुक
