गण्डकी प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिक

गण्डकी । प्रदेश खेलकूद परिषद् गण्डकीले आफ्नो लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरेको छ । जुममार्फत शनिबार अयोजित कार्यक्रममा प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरिएको हो ।

लोगोमा मूल रुपमा चार विषयलाई झल्काएको छ । नेपालको राष्ट्रिय झण्डा, प्रदेशको भौगोलिक नक्सा, प्रतिकात्मक टर्च लिएर दौडिँदै गरेको खेलाडी, राष्ट्रको गौरवका रुपमा रहेको माछापुच्छ्रे हिमाल र फेवाताल, शान्ति र समृद्धिको प्रतीक नीलो तथा सेतो रङसँगै ओलम्पिक रिङको प्रतीकात्मक सङ्केतलाई एकाकार गरी प्रदेश खेलकूद परिषद्को लोगो परिकल्पना गरिएको छ ।

उक्त लोगो निर्माणका लागि प्रदेश खेलकूद परिषद्ले सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । सोको सदस्यमा केशव पाठक र निर्मला बराल रहेका थिए । प्रदेश खेलकूदका सदस्यसचिव तेजबहादुर गुरुङले भर्चुअल माध्यमद्वारा प्रदेशको लोगो सार्वजनिक गर्दै रणनीतिक कार्ययोजना तयबारे जानकारीसमेत दिएका थिए ।

सदस्यसचिव गुरुङले प्रदेश खेलकूदको ‘भिजन’, ‘मिसन’, ‘भ्यालुज’ र ‘मोतो’सहित चार वटा रणनितिक आधार तय गरेको जनाउँदै प्रदेश खेलकूद परिषद्ले सार्वजनिक गरेको मिसनमा उत्कृष्ट जीवनशैली, खेल सबैको नैसर्गिक अधिकार, सुशासन, विश्वस्तरको पूर्वाधार र स्रोत परिचालनलाई मूलभूतरुपमा अघि सारेको बताए ।

“विश्वको २१औँ शताब्दीको खेलकूदसँगै संयुक्त राष्ट्र सङ्घले अघि सारेको सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्ति गर्न हामी सफल हुनेछौँ”, उनले भने“राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकूद भन्ने मूल दृष्टिकोणलाई प्रदेश खेलकूदको मार्ग चित्रण गरिने छ ।”

प्रदेशका ११ वटै जिल्ला खेलकूदका अध्यक्षसहित पदाधिकारी र प्रदेश खेलकूदका सदस्यको सहभागितामा भएको उक्त भर्चुअल कार्यक्रममा जिल्लाका अध्यक्षले प्रशिक्षण तथा प्रतियोगिता, पूर्वाधार निर्माण, प्रोत्साहन तथा पुरस्कार, कार्यालय व्यवस्थापन र आर्थिक वर्षको बजेट निर्माण तथा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका विषयमा समेत छलफल गरिएको थियो ।

बैठकले कोभिड–१९ का विषम परिस्थितिका कारण समस्यामा रहेका १३औँ दक्षिण एशियाली खेलकूद (साग) र ८औँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पदकधारी खेलाडीको नामावली सङ्कलनका लागिसमेत प्रदेश खेलकूदले सबैलाई आग्रह गरेको छ ।

कार्यक्रममा भिजनरी इन्टनेशनलका सिइओ इन्द्र गुरुङले गण्डकी प्रदेश देशकै गौरव गर्ने प्रदेशका रुपमा रहेको उल्लेख गर्दै प्रदेशलाई खेलकूदको राजधानीका रुपमा अगाडि बढाउन प्रदेश खेलकूद परिषद्ले बोकेको सपना चाँडै नै साकार हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना, प्रदेशका युवा तथा खेलकूदमन्त्रीका सल्लाहकार ध्वजकुमार गुरुङ, विभिन्न जिल्लाका अध्यक्षले समेत आ–आफ्ना धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *