परीक्षण उडानका लागि नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार

भैरहवा । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार भएको छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण आयोजना आईसीबी टु का प्रमुख प्रविण न्यौपानेले बताए ।

चैत दोस्रो सातामै विमानस्थलको टावर, धावनमार्गलगायतका क्षेत्रमा आवश्यक सबै बिद्युतीय उपकरणहरु जडान गर्ने काम सकिएको उनले बताए ।
“क्यालिब्रेशन फ्लाइटलका लागि आवश्यक तयारीमा जुटेका थियौँ तर यही बीचमा कोरोना भाइरस संक्रमणको जोखिम बढेसँंगै अहिले रोकिएको छ । हामी अहिले पनि निरन्तर क्यालिब्रेशन फ्लाइटका लागि आवश्यक जहाज र विदेशी प्राविधिक कसरी ल्याउन सकिन्छ भन्नेतर्फ प्रयास गरिरहेका छौं”–उनले भने । न्यौपानेका अनुसार विद्यमान अवस्था र अन्तर्राष्ट्रिय उडान सहज हुने बित्तिकै काम सुरु हुने छ ।

जडान भएका उपकरणहरुले काम गरेको या नगरेको, विमानका पाइलटले टावरसँग सम्पर्क गर्दा निर्देशनहरु राम्ररी सुनिएको वा नसुनिएको लगायतका कुरा क्यालिब्रेशन फ्लाइटबाट थाहा हुन्छ । आईसिपी टु को निर्माण जिम्मेवारी पाएको थाइल्याण्डको एरोथाई कम्पनी हो ।

विमानस्थलमा अहिले कोरोना भाइरस संक्रमणका बीच पनि स्वदेशी र विदेशी गरी १२० कामदारले काम गरिरहेका छन् । उनीहरूलाई कार्यक्षेत्रमै रहने व्यवस्था गरी काम भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रियवस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । विमानस्थल क्षेत्रमा अहिले २० चिनियाँ, १८ भारतीय र ८० बढी नेपाली कामदार एवं प्राविधिक कार्यरत छन् ।

अधिकारीका अनुसार अहिले टर्मिनल बिल्डिङ्गको प्रस्थान र आगमन कक्षको इन्टेरियर, डेकोरेसन, फर्निसिङ, फल्स सिलिङ, एअर कन्डिसन जडान गर्ने काम भइरहेको छ । त्यसैगरी गार्डेनिङ, ल्यान्डस्केप, पेन्टिङ, मार्किंङका काम भइसकेका छन् ।

“एउटा एक्सरे मेसिनबाहेक विदेशबाट आउनुपर्ने त्यस्तो कुनै महत्वपूर्ण उपकरण छैनन्” उाले भने । धावनमार्गका लाइट, कन्ट्रोल टावर, कन्भेएर बेल्ट मेसिन, ब्यागेज ह्यान्डलिङ सिस्टमलगायतका सबै काम सकिएका छन् ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएशन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपियाँमा सम्झौता गरेको यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *