काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु पुरानै अडानमा यथावत रहेको बताएका छन् । शुक्रबार कोभिडविरुद्धको दोस्रो डोज लगाउन संसद भवन पुगेका वरिष्ठ नेता नेपालले पत्रकारहरुसँग कुरा गर्दै आफ्ना अडानमा ओली सहमत भएपनि पार्टीको मोडालिटीबारे भने टुंगो लागिनसकेको बताएका हुन् ।
उनले २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई पुर्याउने र फागुन २८ को निर्णय फिर्ता गर्नुपर्ने आफूहरुको मागमा अध्यक्ष ओली सहमत भएको जानकारी दिए ।
अध्यक्ष ओलीले एकलौटी ढंगले पार्टी चलाएको, संविधान विपरित संसद विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै आन्दोलनमा उत्रिएको नेपाल पक्षले विपक्षी गठबन्धनलाई सघाउन लागेको थियो ।
नेपाल पक्षका सांसदहरु प्रधानमन्त्रीले विश्वासको मत लिने बैशाख २७ गतेको दिन प्रतिनिधिसभाको बैठकमा पनि अनुपस्थित भएको थियो । तर बहुमतको सरकार गठनका लागि दिइएको समय सकिनै लाग्दा अध्यक्ष ओली र नेता नेपालबीच नाटकीय ढंगमा सहमति भएको थियो ।
सोही सहमति अनुसार नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने भएपछि संसदमा ठूलो दलको हैसियतले शुक्रबार प्रधानमन्त्रीमा पुनः ओली नै नियुक्त भएका छन् ।
