काठमाडौँ । विश्वको सर्वाेच्च शिखर सगरमाथामा अमेरिकी र स्वीस गरी दुई विदेशी नागरिकको ज्यान गएको छ । हिमाल आरोहणको क्षेत्रमा यो यस वर्षको पहिलो हताहती हो ।
४१ वर्षीय स्वीस आरोही अब्दुल वारिचकाे सगरमाथाको शिखरमा पुगेर फर्किने क्रममा निधन भएको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ । ‘सफलताका साथ शिखरमा पुगेका अब्दुललाई ओर्लिने क्रममा समस्या भयो’, सेभेन समिटका छाङ्ग दावाले भने, ‘हामीले अक्सिजन र खानासहित थप दुई जना शेर्पा पठाएका थियौँ, दुर्भाग्यवस शेर्पाहरुले उनलाई बचाउन सकेनन् ।’
त्यसैगरी अमेरिकी नागरिक पुवै लिउको पनि सगरमाथाको सबैभन्दा माथिल्लो शिविरमा मृत्यु भएको छ । माथिल्लो शिविरबाट शिखरतर्फ जाने क्रममा हिलारी स्टेप पुगेपछि उनी हिउँको अन्धोपना र थकानको शिकार भएका थिए । थप अक्सिजनका साथ पुगेका आरोहण दलका सहयोगी सदस्यहरुले माथिल्लो शिविरमा फर्काएर ल्याए पनि बुधबार साँझ उनको निधन भएको थियो । उनी ५५ वर्षका थिए ।
मृतकहरुको विस्तृत.आउन बाँकी छ । चिप्लो र भिरालो अग्लो हिमाली भूमागबाट शव ल्याउने काम धेरै जटिल मानिन्छ । शवको उद्धार गर्न कैयौँ शेर्पाले धेरै दिनको कडा मेहेनत गर्नुपर्छ र सामान्यतया धेरै खर्चिलो हुने गरेको छ ।
अन्य आरोहीहरु भने मौसम प्रतिकूल भएका कारण तल झर्न थालेको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।
