१ करोड ९० लाख नेपाली अझै खोपबाट वञ्चित

काठमाडौँ । कोरोना संक्रमण उकालो लाग्दोक्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ रहेको प्रक्षेपण गरेको थियो ।

मन्त्रालय प्रमुख विशेषज्ञ डा रोशन पोखरेलका अनुसार हालसम्म २० लाख ९१ हजारभन्दा बढीले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । लक्षित जनसंख्यामध्ये ९ दशमलव ६ प्रतिशतले खोप लगाएको आँकलन छ । ३ लाख ६८ हजारले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएका छन् । अझै खोपलक्षित जनसंख्यामध्ये अनुमानित १ करोड ९० लाख नागरिक वञ्चित देखिन्छन् ।

सरकारले कोभिड खोपलक्षित समूहको प्राथमिकीकरण गरेको थियो । जसअन्तर्गत स्वास्थ्य तथा सामाजिक क्षेत्रका ९ लाख ११ हजार ३ सय ४२, ज्येष्ठ नागरिक, दीर्घरोगी ५१ लाख ६४ हजार २ सय ६९, ४० देखि ५४ वर्ष उमेर समूहका २९ लाख १ हजार १ सय ४ र १५ देखि ३९ वर्ष उमेर समूहका १ करोड १७ लाख ८० हजार ४८ जना खोप लगाउने लक्ष्य लिएको थियो । तर, अधिकांश अभियानबाट वञ्चित छन् ।

२३ फागुन २०७७ बाट ६५ वर्ष उमेर समूहका नागरिकलाई कोभिसिल्ड खोप लगाउने अभियान सुरु भएको हो । विज्ञका अनुसार कम्तीमा ८ देखि १२ साताभित्र खोप दोस्रो डोज दिइसक्नुपर्नेहुन्छ । यो आधारमा दोस्रो मात्रा दिने अभियान ढिलोमा पनि १५ जेठ सुरु गर्नुपर्नेहुन्छ । तर, पर्याप्त मौज्दात नहुँदा खोप अभियान ‘कहिलेदेखि सुरु गर्ने ?’ भन्ने अन्योल छ । कोभिसिल्ड नगन्य मात्रामा छ ।

खोपविज्ञ डा श्यामराज उप्रेती पहिलो डोज लगाएको १२ सातासम्म लगाउँदा प्रभावकारी मानिने बताउँछन् । ‘पहिलो डोज लगाएको १२ साताभित्र प्रभावकारी मानिन्छ,’ उनी भन्छन्, ‘जहिले खोप दिए पनि अब दोस्रो मात्रा दिने हो ।’

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीका अनुसार हालसम्म भारतबाट १० लाख डोज कोभिसिल्ड र चीन सरकारबाट ८ लाख डोज भेरोसिल खोप अनुदान प्राप्त भएको छ । खरिद गरिएको २० लाखमध्ये १० लाख डोज खोप, कोभ्याक्समार्फत ३ लाख ४८ हजार डोज आएको छ ।

स्वास्थ्यमन्त्री त्रिपाठीले भारतबाट निकट भविष्यमै खोप प्राप्त हुने जानकारी दिए । ‘अमेरीका, रुस, बेलायत, चीनलगायत देशसँग खोप उपलब्धता सम्बन्धमा वार्ता भएको छ,’ उनले भने, ‘सक्दो पहल गरिरहेका छौं ।’

चिनियाँ खोप भेरोसेल २ जेठदेखि

सरकारले आगामी २ जेठदेखि काठमाडौंमा दोस्रो चरणअन्तर्गत चिनियाँ खोप भेरोसेल लगाउने भएको छ । दोस्रो चरणअन्तर्गत १८ माथि ५९ वर्षसम्मकालाई लगाउन लागिएको मन्त्रालयले जनाएको छ ।

औषधि व्यवस्था विभागले अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्युट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्ड खोप, रुसी खोप ‘स्पुटनिक–भी’, सिनोफार्मअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको ‘सार्स–कोभ–२ भ्याक्सिन (भेरो सेल) प्रयोगका लागि अनुमति दिइसकेको समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *