सुएज नहर विस्तार गर्ने इजिप्टको योजना

इजिप्टले सुएज नहरको दक्षिणी भागलाई अझ फराकिलो र गहिरो बनाउने योजना अगाडि सारेको छ । गत मार्चमा यस नहरमा एउटा विशाल कार्गो पानीजहाज नहरमा तेर्सिएपछि केही दिन यस नहरबाट हुने जहाजको ओहोरदोहोर रोकिएको थियो ।

सुएज क्यानल अथोरिटीका प्रमुख लेफ्टिनेन्ट जनरल ओसामा राबीले इस्मालिया शहरमा आयोजित समारोहमा सम्बोधन गर्दै योजनाको विस्तृत विवरण प्रस्तुत गरेका छन् । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र सरकारका उच्च पदाधिकारी उक्त समारोहमा सहभागी भएका थिए । जनरल राबीका अनुसार नहरको दक्षिणतर्फ करिब ४० मिटर फराकिलो बनाइने छ ।

यस क्षेत्रलाई हाल ६६ फिट गहिराईलाई बढाएर ७२ फिट बनाइने छ । त्यस क्षेत्रमा नहरको कूल लम्बाई ३० किलोमिटर रहेको छ । साथै प्रस्तावित योजनामा सन् २०१५ मा खुला गरिएको नहरको दोस्रो लेनको विस्तार पनि रहेको छ ।

यसबाट बढीभन्दा बढी जहाजहरु ओहोरदोहोर गर्न सक्नेछन् । गत मार्च २३ मा नहरमा अड्किएको एभर गिभेन नामको कार्गो पानीजहाज यही एकल लेनमा फसेको थियो । यस पानीजहाजलाई अझै पनि सुएज क्यानल अथोरिटी र जहाज धनीबीच आर्थिक विषयमा उत्पन्न विवादका कारण ग्रेट बिटर लेकमै राखिएको छ ।

विश्व व्यापारको करिब १० प्रतिशत सामान यही नहर हुँदै ओहोरदोहोर गर्ने गर्दछ । यो नहर इजिप्टका लागि एउटा प्रमुख वैदेशिक मुद्रा आर्जनको स्रोत बनेको छ । सरकारी विवरण अनुसार गत वर्ष सन् २०२० मा यस नहरहुँदै करिब १९ हजार जहाज ओहोरदोहोर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *