काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का एक जना नेताले भारतको रोजाइ प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका छन् ।
नेपालमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भइरहेका बेला भारतीय जनता पार्टीका नेता सुब्रमन्यम स्वामीले ट्वीट गर्दै भारतको रोजाइमा नेपालको प्रधानमन्त्री ओली भएको बताएका हुन् । उनले लेखेका छन्, ‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए ।’ उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबीसमेत गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीलाई निरन्तरता दिन वा उनी नभए महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन भारतीय खुपिया एजेन्सी ‘रअ’का उच्चअधिकारी नेपाल आएको कुरालाई स्वामीको भनाइले समेत पुष्टि गरेको छ ।
उच्च श्रोतकाअनुसार ‘रअ’का उच्च अधिकारी होटल सांग्रिलामा बसेर ओली निकटका व्यक्तिसँग भेटघाट र सत्ता गठबन्धनकाबारेमा छलफल गरिरहेका छन् । त्यस्तै भारतीय दूतावासमा जसपाका अध्यक्ष ठाकुरसँगसमेत बैठक गरेका बताइएको छ । ठाकुरले ‘रअ’ उच्चअधिकारीसँगको बैठकपछि वैकल्पिक सरकार गठनको पक्षमा जसपा नरहेको भन्दै विज्ञप्ति जारी गरेका बताइएको छ ।
