काठमाडौं । संसदबाट विश्वासको मत लिन प्रधानमन्त्री केपी शर्मा ओली असफल भएसँगै देशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरिसकेकी छन् ।
प्रधानमन्त्री विश्वासको मत लिन असफल भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्तिमार्फत बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए । यादवसहितको संयुक्त विज्ञप्ति आएपछि तीन दलको सरकार बन्ने अपेक्षा गरिएको थियो ।
तर सोमबार मध्यरातमा जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति निकालेर जसपाको उद्देश्य वैकल्पिक सरकार गठन नभएको बताए । यसको पछाडि भारतीय खुपिया एजेन्सी सक्रिय रहेको पाइएको छ ।
उच्चश्रोतका अनुसार भारतीय खुपिया एजेन्सी ‘रअ’का उच्च अधिकारी भारतको विशेषदूत बनेर काठमाडौंमा सक्रिय बनेका छन् । भारतीय दूतावासमा ‘रअ’का विशेष दूतसँगको बैठकपछि ठाकुरले विज्ञप्ति निकालेका श्रोतले बताएको छ । त्यसैगरी ‘रअ’ का अधिकारी बालुवाटारका उच्च अधिकारीसँग नियमित भेटघाटमा रहेका छन् । होटल सांग्रिलामा बसेका ‘रअ’का अधिकारीसँग बालुवाटार निकटमा व्यक्ति भेटघाट र नियमित सम्पर्कमा रहेका हुन् । भारत कांग्रेस सभापति देउवालाई कुनै पनि हालतमा प्रधानमन्त्री हुन नदिने पक्षमा लागेको छ ।
उसले कि महन्थ ठाकुर यदि ठाकुर नभएमा ओली नै आफूलाई ‘कम्फरटेबल’ हुने उद्देश्यका साथ नयाँ सरकार गठन हुन नदिने पक्षमा लागेको हो । जनता समाजवादी विभाजन भएमा माओवादी, कांग्रेस र उपेन्द्र यादव पक्ष मिलेर नयाँ सरकार गठन सम्भव हुँदैन । त्यसैले भारत जसपालाई कुनै हालतमा एक हुन नदिने र भएमा ठाकुरलाई प्रधानमन्त्री बनाउने पक्षमा लागेको छ ।
किनकी प्रधानमन्त्रीले विश्वासको मत लिने बेला जसपाका ठाकुर पक्षका सांसद तटस्थ बसेका थिए । प्रधानमन्त्री ओली पनि कुनै पनि हालतमा तीन दलको गठबन्धन हुन नदिने पक्षमा छन् । त्यसमाथि भारतका लागि ओली ‘कम्फरटेबल’ र ओलीका लागि भारत ‘कम्फरटेबल’ भएका बेला नयाँ सरकार गठन अन्यौलपूर्ण बनेको छ ।
यसअघि पनि सरकार गठनका बेला सधैं भारतको चलखेल हुने चर्चा चलिरहेका बेला यो पटक पनि दोहोरिएको छ । के यो पटक महन्थ ठाकुरलाई आफ्नो पक्षमा ल्याएर तीन दलको सरकार गठनमा गर्न प्रचण्ड र देउवा सफल होलान् नहोलान् त्यसका लागि भने दुई दिन कुर्नैपर्ने हुन्छ ।
