प्रज्जवल थापा । खुकुरी नेपाल सुपर लिग(एनएसएल) अन्तर्गत भईरहेको पहिलो प्लेअफ खेलको निर्धारित समयमा काठमाडौं रेजर्स र धनगढी एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारि खेलमा काठमाडौं र धनगढीले १-१ गोलको बराबरी खेलेका हुन् ।
यससँगै खेल अतिरिक्त समयमा धकेलिएको छ । काठमाडौंको लागि तेज तामाङले गोल गर्दा धनगढीको लागि पुजन उपरकोटीले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । १६ औं मिनेटमा काठमाडौंका स्टेफेन बिनोङले गरेको प्रहार पोस्टमा लागेर फर्किदा काठमाडौंले खेलमा अग्रता लिने मौका गुमाएको हो । ३७ औं मिनेटमा काठमाडौंकै सुदिल राईले गरेको प्रहार गोलरक्षक किरण चेम्जोङले बचाए । ४१ औं मिनेटमा विपक्षी डिफेन्डरले राम्रोसँग क्लियर गर्न नसकेको बलमा सुदिलले गरेको प्रहार डिफेन्डरलाई लाग्दै बाहिरियो ।
यस्तै ६२ औं मिनेटमा धनगढीका विशाल राईले मैदानको बिच भाग नजिकैबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । ६३ औं मिनेटमा धनगढीकै निशान खड्काको क्रस गोलरक्षक विकेश कुथुले सहजै नियन्त्रणमा लिए । ७५ औं मिनेटमा काठमाडौंले खेलमा अग्रता लियो । मेसौकेको क्रसमा तेज तामाङले हेडिङ गोल गर्दै काठमाडौंलाई खेलमा अगाडि बढाएका थिए । तर ७८ औं मिनेटमा निशान खड्काको कर्नर क्रसमा गोलरक्षक विकेश कुथुले राम्रोसँग क्लियर गर्न नसकेको बलमा पूजन उपरकोटीले ओभरहेड गोल गर्दै धनगढीलाई १-१ गोलको बराबरीमा ल्याएका हुन् । बाँकी समयमा दुवै टोलीबाट थप गोल नहुँदा खेल अतिरिक्त समयमा धकेलिएको हो ।
आज हुने खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले एलिमिनेटरमा मौका पाउनेछ । भोलि हुने दोस्रो प्लेअफको विजेताले एलिमिनेटरमा पहिलो प्लेअफ खेलमा पराजित हुने टोलीसँग फाइनल प्रवेशको लागि भिड्नेछ । दोस्रो प्लेअफमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्नेछन् । फाइनल खेल जेठ १ गते हुनेछ ।
अखिल नेपाल फूटबल संघ(एन्फा) को प्रविधिक सहयोगमा नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको लिगमा सात टोलीको सहभागिता रहेको छ । सहभागी टिममा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, विराटनगर एफसी र पोखरा थन्डर्स रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ । व्यक्तिगत विधाका विजेता सहित उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन् ।
