काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन सबै दलसँग वार्ता गर्ने निर्णय गरेको छ । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयसीमा भित्र देउवाको नेतृत्वमा सरकार बनाउन जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष र नेकपा एमालेको माधव नेपाल पक्षसँग वार्ता गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्र कांग्रेसलाई सघाउने बारे स्पष्ट रहेको र अन्तिम समयसम्ममा जसपा पनि एकजुट हुने सहमहामन्त्री प्रकाशशरण महतले विश्वास व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वास गुमाएपछि राष्ट्रपतिले दलहरुलाई बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन् ।
कांग्रेस र माओवादी र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष बहुमतको सरकार बनाउने पक्षमा देखिएका छन् । तर जसपाको ठाकुर पक्ष वैकल्पिक सरकार गठनको विपक्षमा देखिएको छ । कांग्रेसले सभापति देउवाको नेतृत्वमा सरकार बनाउने पहल गरिरहेको छ ।
