कोरोना नियन्त्रणका लागि सबै एक हुनुपर्छ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन् ।

केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश म्यागाजिनको मंगलबार भर्चुअल माध्यमबाट विमोचन गर्दै अध्यक्ष प्रचण्डले सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला आएको बताएका हुन् ।

उनले सरकार अहिले कोभिड नियन्त्रणमा असफल भएको आरोप लगाए । उनले भने, “अब बन्ने नयाँ सरकारले विगतका सरकारका कमजोरीलाई सुधार गर्दै कोभिड नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ ।”

सरकारकै कारण कोभिड नियन्त्रण बाहिर जान लागेको उनको आरोप थियो । चितवनबाट प्रकाशित भएको यो म्यागाजिनले चितवन आधार क्षेत्र बनाएर सम्पूर्ण क्षेत्रको विषय उठान गरे पनि यसले समग्र देशकै प्रतिनिधित्व गरेको उनको भनाइ थियो ।

उनले भने, “चितवन आधार क्षेत्र बनाएर देशकै अर्थतन्त्रलाई प्रतिनिधित्व गरी कोभिडलाई जोडेर तयार पार्नुभएको छ । यो प्रयास प्रशंसनीय र सह्रानीय छ ।” कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विगतका वर्षमा महानगरले कोभिड न्यूनीकरणका लागि उल्लेख्य काम गरेको भन्दै अहिले पनि महानगर उत्तिकै गम्भीर भएर काम गरिरहेको बताइन् ।

कोभिड सङ्क्रमित बिरामीको उपचारमा कुनै कसर नराख्ने भन्दै उनले कोभिड न्यूनीकरणका लागि सबै क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । म्यागाजिनका सम्पादक सूर्यप्रसाद अधिकारीले गत वर्षको कोभिडका विषय अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

म्यागाजिनमा समग्र देशको प्रतिनिधित्व हुनेगरी चितवनका शिक्षा, स्वास्थ्य, उद्योग, कृषि पर्यटन विकास निर्माणलगायत क्षेत्रहरूमा कोभिडले पारेको असर, चुनौती र सम्भावनालाई उजागर गर्ने प्रयास गरिएको उनको भनाइ थियो । ११२ पृष्ठ लामो रङ्गीन यस म्यागाजिनमा कोभिड–१९ को समयको शुरुआती समय, मध्यम समय र मत्थर भइसकेको अवस्थालाई मिहीन रुपमा केलाएर चित्रण गर्ने प्रयास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *