खेतमै कुहिन थाले तरकारी, बढ्यो चिनीको मूल्य

काठमाडौँ । ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय तरकारी तथा फलफूलले कब्जा जमाएको कालीमाटी फलफूल तथा तरकारी बजारमा ५० प्रतिशतले बिक्री घटेको छ । बिक्री घटेसँगै पोखरा, चितवन, बाँके लगायतका जिल्लामा उत्पादन भएका तरकारी खेतमै कुहिन थालेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिद्वारा सञ्चालित सो बजारमा थोक तथा खुद्रा उपभोक्ता जान छाडेपछि बिक्री घटेको समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले बताए ।

“निषेधाज्ञा सुरु भएको दुई÷तीन दिन सामान्य समयभन्दा बढी बिक्री वितरण भएको थियो ।​ त्यसपछि घट्दै गयो, अहिले आधामा झरेको छ,” उनले भने, “आवागमन कम भयो, होटेल पार्टी प्यालेस बन्द भए र थुप्रै मान्छे काठमाडौँ छाडेर हिँडिसकेकाले एकाएक बिक्रीमा कमी आएको छ ।”

पहिला दैनिक करिब नौ सय मेट्रिक टन तरकारी तथा फलफूल बिक्री हुन्थ्यो, अहिले चार सय मेट्रिक टनमा झरेको छ, उनले बताए । बिक्री वितरण कम हुँदा यसको सीधै असर किसानमा पर्छ । पोखरा, चितवन, बाँके लगायतका जिल्लामा उत्पादन भएका तरकारी बिक्री नहुँदा खेतमै कुहिरहेको समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

 

निषेधाज्ञामा चिनीको मूल्य बढ्यो

निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् । चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ । ८५ रुपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी अहिले ९० देखि ९५ रुपैयाँ किलोसम्ममा बिक्री भएको छ ।

साल्ट टे«डिङ कर्पोरेसनले भने कर छुटमा ल्याएको चिनी आफ्नो आउटलेटमा किलोको ७७ रुपैयाँ ७५ किलोमा बिक्री गरिरहेको छ । चिनी उद्योगी र ठूला व्यापारीको मिलेमतोमा चिनीको मूल्य बढाएको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले बताएको समाचार आजको नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *