काठमाडौँ । नेपालले सिचाङ( तिब्बत)बाट धेरै कुरा सिक्नुपर्ने वक्ताहरुले बताएका छन् । शुक्रबार काठमाडौँमा साइनो नेपाल कल्चरल एण्ड टुरिज्म प्रमोशन सोसाइटीले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले सिचाङसँग नेपालको सयौँ वर्ष पुरानो सम्बन्ध रहेकाले त्यहाँको विकासबाट पाठ सिक्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा पूर्वउपसभामुख इन्दिरा रानामगरले सिचाङबाट सिकेर नेपालले विकासको फड्को मार्नुपर्ने बताइन् । राष्ट्रियताको कुरा गरेर मात्र नहुने भन्दै उनले त्यहाँको विकासबाट नेपालले पाठ सिक्नुपर्ने बताइन् । उनले चीनले संस्कृति संरक्षणलाई समेत रोजगारीको माध्यम बनाएको भन्दै नेपालले पनि त्यसलाई अबलम्वन गर्नुपर्ने बताइन् । छिमेकी भएर पनि नेपालले त्यहाँबाट केही लिन नसकेको भन्दै सरकारले त्यसमा अग्रसरता लिनुपर्ने बताइन् ।
कार्यक्रममा ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले आफू दुई वर्षअघि कार्यभार सम्हाल्न पुग्दा जे सोचेर गएको त्यो भन्दा सिचाङ फरक पाएको बताए । उनले नेपाल र सिचाङबीच दुई हजार वर्षभन्दा अघिदेखि सम्बन्ध रहेकाले नेपालले त्यहाँबाट धेरै कुरा सिक्नुपर्ने बताए । जंगबहादुर राणाको पालामा त्यहाँ कार्यालय खोलेर कर्मचारी पठाएको प्रसंग उल्लेख गर्दै उनले त्यतिबेलादेखि नै नेपालबाट उत्पादन लगेर त्यहाँ नेपालीले व्यापार गर्ने गरेको बताए ।
उनले तिब्बती मुद्रा नेपालमा छापेर लैजाने गरेको, नेपालको नेवाः संस्कृतिसँग त्यहाँको संस्कृति मिल्दोजुल्दो रहेकाले दुई देशको सम्बन्ध ऐतिहासिक रहेको बताए । उनले नेपाल र सिचाङको सामाजिक, सांस्कृतिक पक्ष पनि मिल्ने बताए । उनले सिचाङको अत्याधुनिक विकासबाट नेपालले सिक्नुपर्ने बताए ।
उनले भने,‘ सिचाङको रेलमार्ग, सुरुङमार्ग जसरी बनेका छन्, त्यसबाट नेपालले पनि सिकेर विकासको फड्को मार्नुपर्छ । त्यस्तै त्यहाँको अनुशासनबाट पनि पाठ सिक्नुपर्छ । त्यस्तै त्यहाँको समयको महत्व पनि एकदमै राम्रो छ । जस्तो कुनै कार्यक्रम ठिक समयमा सुरु हुने र निर्धारित समयमा सकिने गर्छ । जस्तो कि त्यहाँको संसदको बजेट अधिवेशन जम्मा चार दिनको हुन्छ । बजेट भाषणअघि सबै प्रक्रिया सकिन्छ र बजेट भाषण सकिएपछि उनीहरु आफ्नो काममा लाग्छन् । हामीले यसबाट पनि सिक्नुपर्छ ।’
उनले नेपालले त्यहाँको भौतिक विकासबाट फाइदा लिन नसकेको भन्दै सरकारले त्यसमा ध्यान दिनुपर्ने बताए । उनले भने,‘सिगात्सेसम्म रेल आएको छ । हामीले सीमासम्म राम्रो यातयातको पूर्वाधार बनाउन सके सामान ढुवानी गर्न सस्तो र सहज हुनेथियो ।’
त्यस्तै उनले नेपालले पर्यटन क्षेत्रबाट पनि फाइदा लिनुपर्ने बताए । उनले भने, ‘त्यहाँ पोताला दरबार हेर्न वार्षिक चार करोड भन्दाबढी पर्यटक आउँछन् । हामीले त्यसको एक हिस्सा मात्र नेपाल ल्याउन सके नेपालको पर्यटनमा कायापलट हुनसक्छ । त्यसैले राज्यले त्यसतर्फ पनि ध्यान दिनुपर्छ ।’
कार्यक्रममा एकसाताको सिचाङ भ्रमणमा गएर फर्किएका टोलीका सदस्यले पनि आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा बौद्धविद्वान मोहनकुमार तामाङले नेपाल र सिचाङबीच १४ सताब्दीदेखि नै सम्बन्ध रहेको बताए ।
उनले तिब्बतको सम्पदा संरक्षण हदसम्मको रहेको भन्दै नेपालले सम्पदा संरक्षणमा ध्यान नदिएको बताए । उनले तिब्बतले बौद्ध सम्पदा जोगाएर लाखौँ पर्यटक आकर्षित गर्ने गरेको तर नेपालमा भने बौद्ध गुम्बामा हतियार राखेको भन्दै नकारात्मक प्रचार गरेको गुनासो गरे । उनले तिब्बत र नेपालको फर्पिङ गुफाबीच सम्बन्ध रहेको तर हामीले त्यसलाई संरक्षण गरी प्रचारप्रसार गर्न नसकेको बताए ।
त्यस्तै कलाकार राजु पौडेल (मास्टर)ले सिचाङलाई आफूले एउटा पाखोको रुपमा कल्पना गरेको तर त्यहाँ पुगेपछि आफूले अर्कै पाएको बताए । उनले सिचाङबाट हामीले सम्पत्ति जोगाएर सन्ततीलाई हस्तान्तरण गर्ने मात्र नभई प्राचीन सम्पदा जोगाएर हस्तान्तरण गर्नुपर्ने रहेछ भन्ने कुरा सिकेको बताए ।
उनले सम्पदा संरक्षणमा सिचाङले धेरै काम गरेकाले नेपालले पनि मठ मन्दिर संरक्षण गर्नुपर्ने बताए । उनले भने,‘हाम्रोमा बुद्ध जन्मस्थल लुम्बिनी छ । खै त हामीले त्यसलाई प्रचारप्रसार गरी पर्यटक तान्न सकेको ? हामीसँग सुनको कचौरा छ, तर हामी भिख मागिरहेका छौँ । यो कुरा सिचाङबाट हामीले सिक्नुपर्छ ।’ त्यस्तै उनले सिचाङबाट हामीले अनुशासन र सरसफाइ सिक्नुपर्ने बताए । त्यस्तै उनले सिचाङलाई हेरेर नेपालले विकासको मोडल परिवर्तन गर्नुपर्ने बताए ।
वरिष्ठ पत्रकार दीपक रिजालले सिचाङको विकास र पर्यावरण संरक्षणमा त्यहाँको सरकारले देखाएको तदारुकता प्रशंसनीय रहेको बताए । उनले त्यहाँको विकास, अनुशासन, पूर्वाधार निर्माण, सांस्कृतिक सम्पदाको संरक्षणबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताए । उनले सांस्कृतिक क्रान्तिपछि त्यहाँका ऐतिहासिक सम्पदा ध्वस्त भएको बताइएपनि अहिले हेर्दा तन्दुरुस्त अवस्थामा रहेको बताए । उनले पश्चिमा संचारमाध्यमले सिचाङमा स्वतन्त्रता नरहेको भन्ने गरेको भएपनि त्यस्तो नरहेको आफूले पाएको बताए ।
कार्यक्रममा सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले सिचाङबाट नेपालको पर्यटन र हिमाली क्षेत्रले फाइदा लिनसक्ने बताए । उनले सिचाङ र नेपालीको हिमाली सम्पदा, परम्परागत ज्ञान, सीप समान किसिमको रहेकाले त्यसलाई आदानप्रदान गर्नुपर्ने बताए । उनले पर्यटनलाई घुमफिरसँग मात्र सीमित नगरी सांस्कृतिक ज्ञान आदान प्रदानका रुपमा अघि बढाउनुपर्ने बताए । उनले सिचाङको अनुभवले हाम्रा पहिचान र आवश्यकता भावी पुस्तालाई सुरक्षित राख्नुपर्छ भन्ने ज्ञान दिने बताए ।








