म्याड्रिड र सेभिल्लाको रोमाञ्चक बराबरी

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगाको उपाधि होडमा रहेका रियल म्याड्रिड र सेभिल्लाले रोमाञ्चक बराबरी खेलेका छन् । आइतबार राति घरेलु मैदानमा भएको खेलमा म्याड्रिड र सेभिल्लाले २-२ गोलको बराबरी खेलेका हुन् ।

बराबरी खेलेसँगै म्याड्रिडले अङ्क तालिकाको शिर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । अल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा म्याड्रिडको लागि मार्को एसेन्सियोले एक गोल गर्दा एक गोल भने उपहार पाएको हो । सेभिल्लाको लागि फेर्नान्डो र इभान राकिटिकले एक/एक गोल गरे । खेलमा दुई पटक लिएको अग्रता जोगाउन नसक्दा सेभिल्ला बराबरीमा रोकिन बाध्य भयो ।

पहिलो हाफको २२ औं मिनेटमा राकिटिकको पासमा फेर्नान्डोले गोल गर्दै सेभिल्लालाई खेलमा अगाडि बढाएका थिए । एक गोलले पछि परेको म्याड्रिड दोस्रो हाफमा थप बलियो बनेर प्रस्तुत भयो । ६७ औं मिनेटमा टोनी क्रुसको पासमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मार्को एसेन्सियोले गोल गर्दै म्याड्रिडलाई बराबरीमा ल्याए । एसेन्सियो एक मिनेट अगाडि लुका मोड्रिकको स्थामा मैदान छिरेका थिए ।

७८ औं मिनेटमा राकिटिकले पेनाल्टीमा गोल गर्दै सेभिल्लालाई फेरि खेलमा अगाडि बढाए । म्याड्रिडका डिफेन्डर इडर मिलिटाओले पेनाल्टी क्षेत्रमा हेन्ड गरेपछि सेभिल्लाले पेनाल्टी पाएको थियो । दोस्रो हाफको अतिरिक्त समयको चौथो मिनेटमा म्याड्रिडले बराबरी गोल फर्कायो । क्रुसले हानेको बल विपक्षी खेलाडी डिएगो कार्लोसलाई लाग्दै पोस्टको दिशा लिएपछि म्याड्रिडले खेलमा २-२ गोलको बराबरी गरेको हो ।

बाँकी समयमा थप गोल नहुँदा दुवै टोलीले एक/एक अङ्क बाढे । बराबरीसँगै रियल म्याड्रिड ३५ खेलबाट ७५ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ७५ अङ्क नै जोडेको बार्सिलोना हेड टु हेडमा पछि रहँदै तेस्रो स्थानमा झरेको छ । यस्तै सेभिल्ला ३५ खेलबाट ७१ अङ्क जोड्दै चौथो स्थानमा छ । समान खेलबाट ७७ अङ्क जोडेको एथ्लेटिको म्याड्रिड भने शिर्ष स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *