प्रज्जवल थापा । नेपालमा पहिको पटक आयोजना भएको फ्रेन्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल)को लिग चरणको खेल सकिएको छ । आइतबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं रेजर्सले चितवन एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै लिगको शीर्षस्थानामा रहेर प्लेअफमा प्रवेश गरेको हो ।
हारसँगै चितवन जितविहीन रहँदै प्रतियोगिताको अन्त्य गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंलाई जित दिलाउन मेसौके अलुमोउ र सन्जोक राईले एक/एक गोल गरे । चितवनको लागि राजिव लोप्चनले एक गोल गरे । सबै गोल पहिलो हाफमा भएको हो ।
खेलको १७ औं मिनेटमा मेसौकेले गोल गर्दै काठमाडौलाई शुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा सन्जोक राईले गोल गर्दै काठमाडौंको अग्रता दोब्बर बनाए । ३९ औं मिनेटमा राजिव लोप्चनले गोल गर्दै चितवनलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । तर दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा चितवनले २-१ गोलको हार बेहोर्यो ।
जितसँगै काठमाडौं लिगको शिर्ष स्थानमा रहँदै प्लेअफ प्रवेश गर्दा धनगढी एफसी, ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी सिटी एफसी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेर प्लेअफमा प्रवेश गरेका हुन् ।
अब फाइनल प्रवेशको लागि मंगलबार काठमाडौं रेजर्स र धनगढी एफसी भिड्नेछन् । यस्तै बुधबार ललितपुर र बुटवल लुम्बिनी भिड्नेछन् । उक्त खेलमा जित हात पार्ने टोलीले काठमाडौं र धनगढीबिच हुने खेलको पराजित टिमसँग फाइनल प्रवेशको लागि वैशाख ३० मा खेल्नेछ । फाइनल खेल जेठ १ गते हुनेछ ।
