प्रज्जवल थापा । बायर्न म्युनिखले लगातार नवौं पटक जर्मन लिग बुन्डेसलिगाको उपाधि जितेको छ । शनिबार भएको खेलमा डर्टमण्डले आरबी लिपजिगलाई पराजित गरेसँगै बायर्न लिग च्याम्पियन बनेको हो ।
यस्तै बायर्नले उपाधिको खुसियाली शानदार जितसहित मनाएको छ । शनिबार नै ढिलोगरि सम्पन्न भएको खेलमा पोलिस फर्वार्ड रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको सहयोगमा बायर्नले बोरुसिया मोन्चेनग्लाडबाकलाई ६-० गोलले हराएको हो ।
घरेलु मैदान एल्लिनाज एरिनामा भएको खेलमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा थोमस मुलर, किङ्स्ले कोमान र लेरोय सानेले एक/एक गोक गरे । बायर्नले पहिलो हाफमा चार र दोस्रो हाफमा २ गोल थपेको हो । खेलको दोस्रो मिनेटमै डेभिड अल्बाको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई खेलमा अगाडि बढाएका थिए ।

२३ औं मिनेटमा मुसिएलाको पासमा मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । ३४ औं मिनेटमा लेवन्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न फराकिलो जिततर्फ अगाडि बढेको हो । ४४ औं मिनेटमा लेवान्डोस्कीको पासमा कोमानले गोल गर्दै बायर्नलाई पहिलो हाफमा ४-० गोलको अग्रता दिलाए ।
६६ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे । ८६ औं मिनेटमा ग्नाब्रीको पासमा सानेले गोल गर्दै बायर्नलाई ६-० गोलको फराकिलो जित दिलाए । जितसँगै च्याम्पियन बायर्न म्युनिख ३२ खेलबाट ७४ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा छ । पराजित बोरुसिया समान खेलबाट ४६ अङ्कको साथ सातौं स्थानमा यथावत छ ।
