संवैधानिक परिषदको बैठक स्थगित गर्न प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक स्थगित गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । शनिबार विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री के.पी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको छ । यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै छ । ’

उनले संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुलाई आग्रहसमेत गरेका छन् ।

प्रधानमन्त्रीले आइतबारका लागि संवैधानिक परिषदको बैठक बोलाएका छन् । बैठकले लोकसेवा आयोग, अख्तियारलगायतका संवैधानिक अंगमा रिक्त पदपूर्ति गर्ने बताइएको छ ।

अध्यादेशमार्फत संवैधानिक अंगमा नियुक्ति गर्न लागेको भन्दै त्यसको कांग्रेसले पनि विरोध गरेको छ । कांग्रेस सभापति देउवाले आफू बैठकमा नजाने र अरु सदस्यलाई पनि नजान आग्रह गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *