प्रज्जवल थापा । खुकुरी नेपाल सुपर लिगमा(एनएसएल)मा आज पोखरा थन्डर्स र एफसी चितवन भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५:३० बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना जिवित राख्न चाहन्छन् । हाल ५ खेलबाट ५ अङ्क जोड्दै लिगको छैटौं स्थानमा रहेको पोखराले चितवनबाट ३ अङ्क खोस्न चाहन्छ । आजको खेल जितेपनि पोखराले प्लेअफ प्रवेशको लागि अन्य टोलीको नतिजा पर्खिनुपर्नेछ । हारले भने पोखराको प्लेअफ सम्भावना समाप्त हुनेछ ।
यता चितवन भने आजको खेल जित्दै लिगमा पहिलो जित निकाल्न चाहन्छ । चितवनले लिगको ४ खेलमा जित निकाल्न सकेको छैन । हाल चितवन २ अङ्कसाथ सातौं स्थानमा छ । आजको खेलमा पराजित भएको खण्डमा चितवनको प्लेअफ पुग्ने सम्भावना समाप्त हुनेछ ।
यसअघिनै धनगढी र काठमाडौंले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । अब प्लेअफको लागि दुई स्थान खाली रहेको छ ।

