प्रज्जवल थापा । क्यामरुनी स्ट्राइकर मेसौके ओलोमोउको ह्याट्रिकको सहयोगमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग(एनएसएल) मा शानदार पुनरागमन जित निकालेको छ । बुधबार बेलुकी त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको दिनको दोस्रो खेलमा काठमाडौंले विराटनगर सिटी एफसीलाई ५-४ गोलले पराजित गर्दै प्लेअफमा आफ्नो स्थानमा पक्का गरेको हो ।
काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक पुरा गर्दा स्टेफेन बिनोङ र छिरिङ गुरुङले एक/एक गोल गरे । विराटनगरको लागि पेड्रो मान्जीले दुई, अडेलाजा ओलुवाविन्मी र रन्जित धिमालले एक/एक गोल गरे । खेलमा लिएको २-० गोलको अग्रता जोगाउन नसक्दा विराटनगर हार बेहोर्न बाध्य भयो । खेलको पाँचौ मिनेटमा अडेलाजाले गोल गर्दै विराटनगरलाई शुरुवाती अग्रता दिलाएका थिए ।

३३ औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरको अग्रता दोब्बर बनाए । त्यसपछि भने काठमाडौं खेलमा हावी भयो । काठमाडौं ६ मिनेटको अन्तराललाई ३ गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गर्यो । ३५ औं मिनेटमा मेसौकेले गोल गर्दै काठमाडौंलाई २-१ गोलको स्थितिमा ल्याए । त्यसको एक मिनेट बित्न नपाउँदै मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई बराबरीमा ल्याए ।
यस्तै ४१ औं मिनेटमा स्टेफेन बिनोङले गोल गर्दै पहिलो हाफमा काठमाडौंलाई ३-२ गोलको अग्रता दिलाए । ६७ औं मिनेटमा मेसौकेले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे । यो प्रतियोगिताको पहिलो ह्याट्रिक हो । दुई गोलले पछि परेपनि विराटनगरले खेलमा हार मानेन । ७८ औं मिनेटमा कप्तान रन्जित धिमालले डि बकस बाहिरबाट सुन्दर गोल गर्दै विराटनगरलाई ४-३ को स्थितिमा ल्याए ।

८२ औं मिनेटमा छिरिङ गुरुङले गोल गर्दै काठमाडौंलाई ५-३ गोलको स्थितिमा पुर्याए । यस्तै अतिरिक्त समयको चौथो मिनेटमा विराटनगरको लागि पेड्रो मान्जीले व्यक्तिगत दोस्रो गोल गरेपनि टोलीको हार टार्न सकेनन् । बाँकी समयमा थप गोल हुन नसक्दा काठमाडौं ५-४ गोल अन्तरले विजयी भयो ।
जितसँगै काठमाडौं रेजर्स ५ खेलबाट १० अङ्क जोड्दै एक खेल अगावै प्लेअफमा प्रवेश गरेको छ । प्लेअफ पुग्ने काठमाडौं दोस्रो टिम हो । यसअघिनै धनगढी एफसीले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । पराजित विराटनगरले भने प्लेअफ प्रवेशको लागि अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ । हाल विराटनगर ५ खेलबट ७ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ ।
तस्बिर:- मनोज थापा/रमेश सुवेदी, खेलपाटी डट कम
