चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

प्रज्जवल थापा । इङ्लिस क्लब चेल्सी युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलको दोस्रो लेगमा चेल्सीले स्पेनिस च्याम्पियन रियल म्याड्रिडलाई २-० ले तथा समाग्रमा ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलको टिकट काटेको हो ।

अब चेल्सीले उपाधिको लागि म्यान्चेस्टर सिटीको सामना गर्नेछ । घरेलुु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन टिमो वेर्नर र मेसन माउन्टले एक/एक गोल गरे । पहिलो हाफको २८ औं मिनेटमा वेर्नरले गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाएका थिए । काई हाभेर्ट्जले प्रहार गरेको बल पोस्टमा लागेर फर्किदा उक्त बललाई वेर्नरले नजिकैबाट हेडिङ गर्दै पोस्टको दिशा दिएका थिए ।

यस्तै ८५ औं मिनेटमा क्रिस्टेन पुलिसिकको पासमा माउन्टले गोल गर्दै चेल्सीलाई २-० तथा समाग्रमा ३-१ गोलको जित दिलाए । बल पोसेसनमा राम्रो पकड जमाएपनि गोल गर्न नसक्दा म्याड्रिड हार बेहोर्न बाध्य भयो । दुई टोलीबिच भएको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो ।

अब मे ३० मा हुने फाइनल खेलमा उपाधिको लागि दुई इङ्लिस क्लब चेल्सी र म्यान्चेस्टर सिटी भिड्नेछन् । मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा सिटीले पिएसजीलाई समाग्रमा ४-१ गोलले हराउँदै फाइनलको टिकट काटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *