अक्सिजनलगायत स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गरेका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन अनुरोध गरे । उनले छिमेकी र मित्रराष्ट्रलाई अक्सिजनलगायत स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले गत वर्ष नै उपप्रधानमन्त्रीका संयोजकत्वमा कोभिड रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन गरिएको र त्यसबाट सरकारी निकायबीच समन्वय गरिएको तथा देशभर होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापन गराइएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा नेपालले क्रमशः प्रगति हासिल गरेको बताए ।

सबैजसो अस्पताललाई पिसिआर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको जनाउँदै उनले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस्, कसैले पनि उपचार नपाएर मानिसको ज्यान ज्यान नपरोस् भनेर सरकारले सहजता अपनाएको बताए । उनले भने, “ जनताको स्वास्थ्य सुरक्षा पहिलो दायित्व हो । निषेधाज्ञाका कारण जनतालाई भोकै मर्न दिइने छैन । यस स्थितिमा पनि अर्थतन्त्र र रोजगारीलाई गतिशील बनाइनेछ । जनताको उपचार र सेवामा सबैको त्याग, लगनशीलता र समर्पणको म प्रशंसा गर्दछु ।”

उनले शय्या लुकाउने वा अनिययमिता जस्ता कार्य भेटिएका कारवाही गरिने स्पष्ट गर्दै अक्सिजन उत्पादन बढाउन पनि पहल भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *