रोनाल्डोको दुई गोलमा युभेन्टसको महत्त्वपूर्ण जित

प्रज्जवल थापा । सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्टसले सिरि ए मा महत्त्वपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टसले उडिनेसेलाई २-१ गोलले पराजित गर्दै शिर्ष चारमा उक्लिएको हो ।

खेलमा एक गोलले पछि परेको स्थितिमा रोनाल्डोले अन्तिम १० मिनेटमा दुई गोल गर्दै युभेन्टसलाई जित दिलाएका हुन् । पहिलो हाफको दसौं मिनेटमा रोड्रिगो डे पलको पासमा नाहेउल मोलिनाले गोल गर्दै घरेलु टोली उडिनेसेलाई खेलमा अग्रता दिलाएका थिए ।

८३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीलाई बराबरीमा ल्याए । डि पलले पेनाल्टी क्षेत्रमा हातले बल छोएपछि युभेन्टसले पेनाल्टी पाएको थियो । ८९ औं मिनेटमा राबियटको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई ३ अङ्क दिलाए ।

जितसँगै युभेन्टस ३४ खेलबाट ६९ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित उडिनेसे ३४ खेलबाट ३९ अङ्क जोड्दै ११ औं स्थानमा यथावत छ । यसअघिनै इन्टर मिलनले चार खेल अगावै लिगको उपाधि जितिसकेको छ । आइबार भएको खेलमा एटलान्टाले ससौलोसँग १-१ गोलको बराबरी खेलेपछि इन्टरले ११ वर्षपछि पहिलो पटक घरेलु लिगको उपाधि जितेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *