४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका केसीको दाबी

बुटवल । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ जना सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् ।

आइतबार केसीले प्रदेशसभाका ४२ सांसदले गरेको हस्ताक्षर प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेटेर लिखित निवेदन दिएका हुन् । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाललगायतका सांसदले आफ्ना पक्षमा ४२ सांसद रहेको दाबी गर्दै अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठन रोक्न माग गर्दै आफ्नो दाबी पेश गरेका हुन् ।

८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमलाकुमारी खत्री (वली) ले नेकपा माओवादी केन्द्र रोजेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेको छ ।

यस्तै नेकपा एमालेका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले पनि हस्ताक्षर गरेका छन्। श्रीवास्तव र शाही सूर्य चिन्ह लिएर चुनाव लडेको भए पनि उनीहरू हृदयेश त्रिपाठी र वृजेशकुमार गुप्ता समूहबाट आएका हुन् ।

पत्रमा भनिएको छ, ‘लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यको बहुमत प्राप्त नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा सदस्य माननीय कुलप्रसाद केसीलाई नेपालको संविधान धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्न तपसिल बमोजिमको लुम्बिनी प्रदेश सभाका सदस्यहरुको समर्थन रहेको हुँदा दबी प्रस्तुत गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *