बाँकेमा एकैरातमा चार जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके । बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार यही वैशाख १४ गते भर्ना भएका बैजनाथ गाउँपालिका–२ बाँके निवासी २० वर्षीय पुरुष र १७ गते भर्ना भएका राजापुर नगरपालिका–२ बर्दिया निवासी २७ वर्षीय युवाको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी यही वैशाख १७ गते भर्ना भएकी कोहलपुर नगरपालिका–११ निवासी ४० वर्षीया महिलाको उपचारका क्रममा गएराति करीब ८ बजे भेरी अस्पतालमा मृत्यु भएको थियो ।

खजुरा गाउँपालिका–३ निवासी ५५ वर्षीय पुरुषको पनि गए राति मृत्यु भएको छ । वैशाख १७ गते गरिएको एन्टिजेन परीक्षणबाट उनलाई कोभिड पुष्टि भएपश्चात् गाउँपालिकाले खजुरामा बनाएको आइसोलेशनमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट १२३ र उपचारका क्रममा बाहिरी जिल्लाबाट आएका ११९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *