सरकारले ‘बेड छैन’ भन्नु लाचारी र लज्जास्पदः प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारी बढेको बेला सरकारले ‘बेड छैन’ भन्नु लाचारी र लज्जास्पद भएको बताएको छ । शनिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी युद्धस्तरमा समाधान खोज्नुपर्नेमा सरकार पन्छिन खोज्नु लाचारी भएको बताएका हुन् ।

शर्माले स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वभाविक र आवश्यक हो तर संकटमा अपील गरिरहँदा हतास र त्रास नभई विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ । पुरै बर्ष दिन सत्ता द्वन्दमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ? इतिहासकै सबैभन्दा गैह्र जिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलबाडको ब्यवहार हो यो । यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्न । नेपाली कांग्रेस लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपील गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *