प्रज्जवल थापा । कप्तान केएल राहुल र हरप्रित ब्रारको उत्कृष्ट प्रदर्शनको मद्दतमा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै इन्डियन प्रिमियर लिग(आईपिएल) मा तेस्रो जित निकालेको छ । शुक्रबार राति अहमबादमा भएको खेलमा पन्जाबले बैंगलोरलाई ३४ रनले हराएको हो ।
जितको लागि १ सय ८० रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रन मात्र बनाउन सक्यो । बैंगलोरको लागि कप्तान विराट कोहलीले सार्वधिक ३५ रन जोडे । उनले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । एक समय बैंगलोर ६२-२ को अवस्थामा रहेको थियो । तर हरप्रित ब्रारले विराट कोहली, ग्लेन म्याक्सवेल र एबि डि भिल्लियर्सको विकेट लिदै खेललाई कोल्टो फेराएका थिए । यस्तै बैंगलोरको लागि राजत पतिडरले ३० बलमा २ चौका र १ छक्काको मद्दतमा ३१ रन जोडे । नवौं नम्बरमा ब्याटिङ गर्न आएका हर्सल पटेलले १३ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३१ रन जोड्दा जेमिसनले १६ रनको योगदान गरे ।
पन्जाबको लागि हरप्रित ब्रारले ४ ओभरमा १ मेडन राख्दै १९ रन दिएर ३ विकेट लिए । रवि विश्वनीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिँदा रिले मेरेडिथ, मोहमद शामी र क्रिस जोर्डानले १/१ विकेट लिए ।
यसअघि नरेन्द्र मोदी रगंशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो । पंन्जाबको लागि कप्तान केएल राहुलले अवजित ९१ रन जोडे । उनले ५७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । क्रिस गेलले २४ बलमा ६ चौका र २ छक्काको सहयोगमा ४६ रन बनाए । यस्तै हर्प्रित ब्रारले १७ बलमा २ छक्का र १ चौकाको मद्दतमा २५ रन जोड्दा प्रभसिम्रन सिंहले ७ र दिपक होडाले ५ रनको योगदान गरे ।
बैंगलोरको लागि क्यले जेमिसनले ३ ओभरमा ३२ रन दिएर २ विकेट लिए । डानियल साम्सले ४ ओभरमा २४ रन दिएर १ विकेट लिँदा युजवेन्द्र चाहल र शाहबज अहमेदको नाममा १/१ विकेट रह्यो ।
हारसँगै बैंगलोरले अङ्क तालिकाको शिर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । पराजित बैंगलोर ७ खेलबाट १० अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ । यस्तै पन्जाब ७ खेलबाट ६ अङ्क जोड्दै पाँचौ स्थानमा उक्लिएको छ ।