प्रज्जवल थापा । क्याटलान क्लब बार्सिलोना पराजित भएसँगै स्पेनिस लिग ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ग्रानाडासँग २-१ गोलले पराजित भएसँगै ला लिगाको उपाधि होडमा थप रोमाञ्चकता थपिएको हो ।
क्याप्म नोउमा भएको खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोनाले लिगको शिर्ष स्थानमा उक्लिने मौका गुमाएको हो । पहिलो हाफमा कप्तान लियोनल मेस्सीको गोलमा अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल बेहोरेको थियो । उक्त खेल जितेको भए बार्सिलोना शिर्ष स्थानमा उक्लिने थियो ।

बार्सिलोनाको हारले लिगको शिर्ष चार स्थानमा रहेका सबै टोलीलाई बाटो खुल्ला बनाएको छ । चारै टोलीको उपाधि जित्ने उत्तिकै अवसर रहेको छ । ३३ औं चरणको खेल सकिदा एथ्लेटिको म्याड्रिड ७३ अङ्कको साथ शिर्ष स्थानमा रहेको छ । यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिड र तेस्रो स्थानमा रहेको बार्सिलोनाको समान ७१ अङ्क रहेको छ । यस्तै चौथो स्थानमा रहेको सेभिल्लाको ७० अङ्क रहेको छ ।
अहिलेको अवस्थामा उपाधि होडमा फेरबदल भने बार्सिलोना र एथ्लेटिको म्याड्रिडबिच हुने खेलले ल्याउन सक्नेछ । मे ८ मा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेलमा बार्सिलोना र एथ्लेटिको म्याड्रिड भिड्दैछन् । उक्त खेलको नतिजाले उपाधि होडमा फरक ल्याउन सक्ने सम्भावना रहेको छ । उक्त खेलमा एथ्लेटिकोको हारले रियल र बार्सिलोना, सेभिल्लालाई बाटो खुल्न सक्छ भने एथ्लेटिकोले खेल जितेको खण्डमा आफु उपाधि होडमा थप बलियो हुनेछ ।
एथ्लेटिकोको बाँकी खेल:-
इल्चे (अवे, मे १)
बार्सिलोना (अवे, मे ८)
रियल सोसिडाड (होम, मे १३)
ओसासुना (होम, मे १६)
रियल भाल्लाडोलिड (अवे, मे २३)

रियल म्याड्रिडको बाँकी खेल:-
ओससुना (होम, मे २)
सेभिल्ला (होम, मे १०)
ग्रानाडा (अवे, मे १४)
एथ्लेटिक क्लब (अवे, मे १६)
भिल्लारियल (होम, मे २३)

बार्सिलोनाको बाँकी खेल:-
भ्यालेन्सिया (अवे, मे ३)
एथ्लेटिको म्याड्रिड (होम, मे ८)
लेभान्टे (अवे, मे १२)
सेल्टा भिगो (होम, मे १६)
इबार (अवे, मे २३)

सेभिल्लाको बाँकी खेल:-
एथ्लेटिक क्लब (होम, मे ४)
रियल म्याड्रिड (अवे मे १०)
भ्यालेन्सिया (होम, मे १२)
भिल्लारियल (अवे, मे १६)
डिपोर्टिभो आल्भेस (होम, मे २३)

