काठमाडौँ । नेकपा (एमाले) नेपाल समूहले कोभिड–१९ को रोकथाम, नियन्त्रण र संक्रमतिहरुको उपचारका लागि प्रभावकारीरुपमा अबिलम्ब थप कदम चाल्न सरकारसँग माग गरेकाे छ । एमाले स्थायी कमिटीको काठमाडौंमा बुधबार बसेको बैठकले संक्रमण तीब्र रुपमा फैलिरहेको र संक्रमितको मृत्युदर बढिरहेको अवस्थामा विभिन्न माध्यमबाट नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण, क्वारेन्टिन बसाई र जारी स्वास्थ्य मापदण्डको पालना अनिवार्यरुपमा गराउन सरकारको ध्यानाकर्षण गरेको हाे ।
संक्रमण तीव्ररुपमा समुदायस्तरमा फैलिने जोखिमलाई मध्यनजर गर्दै तीनै तहका सरकारको सक्रियता र समन्वयमा तत्काल व्यवस्थित आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन तीव्रतापूर्वक गर्दै समुदायस्तरमा परीक्षणको दायरा फराकिलो बनाउन बैठकेले माग गरेको केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकले संक्रमितहरुको उपचारका लागि कोरोना डेडिकेटेड अस्पताल’को थप व्यवस्था गर्दे सम्पूर्ण अस्पतालहरुमा आइसियु, भेन्टिलेटरको व्यवस्थापन, औषधी भण्डारण र अक्सिजन प्लान्टलगायत सम्पूर्ण स्वास्थ्य सामग्री पर्याप्त मात्रामा व्यवस्था गर्न माग गरेको छ । बन्दाबन्दीको अवस्थामा आम सर्वसाधारणहरुलाई आइपर्ने समस्याप्रति गम्भीर रहन र समस्यामा परेकाहरुलाई राहत उपलब्ध गराउनसमेत बैठकले माग गरेको छ ।
बैठकले नेकपा (एमाले) को सम्पूर्ण पार्टी कमिटी, जनसंगठन र पार्टी सदस्यहरुलाई कोभिड–१९ को रोकथाम, नियन्त्रण र संक्रमितहरुको उपचारका लागि तीनै तहका सरकारसँग आवश्यक समन्वय गर्दे सक्रिय रुपमा स्वयंसेवी भूमिकाका साथ कोभिड–१९ को लडाइँमा सहभागी हुन आह्वान गरेको छ ।

