बागलुङ जिल्लाको पर्यटन गुरुयोजना निर्माण अलपत्र

बागलुङ । बागलुङ जिल्लाको पर्यटन गुरुयोजना निर्माण अलपत्र परेको छ । पर्यटन विकासका लागि गुरुयोजना बनाउने पहल फेरि तुहिएको छ । बागलुङ पर्यटन विकास समितिले दुई वर्षअघि गुरुयोजनाको काम थालेको थियो ।

समितिले गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पेश गरेको गुरुयोजनाको प्रस्तावपत्रसमेत यसै थन्किएको छ । गुरुयोजनामार्फत पर्यटन क्षेत्रको व्यवस्थित विकासको अपेक्षा गरेका व्यवसायी निराश बनेका छन् ।

पर्यटन विकासको चर्को बहस शुरु भए पनि यतीका वर्षसम्म यहाँको पर्यटन गुरुयोजनासमेत बन्न सकेको छैन । गुरुयोजना नुहँदा पर्यटन क्षेत्रमा बजेट र कार्यक्रम ल्याउन सहज छैन । पर्यटनसँग सरोकार भएका पक्ष गुरुयोजना निर्माणमा पटक–पटक असफल देखिएका छन् ।

मन्त्रालयबाट प्रतिबद्धतानुसार बजेट नछुट्टिएपछि गुरुयोजना निर्माणले गति लिन नसकेको समितिका अध्यक्ष राजु खड्काले बताए । “राज्यका संयन्त्र नतातेसम्म नहुँदो रहेछ, हामीले सक्दो पहल गर्यौं । मन्त्रालय पनि धायौँ, तर बजेट नै नआएपछि काम अघि बढ्न सकेन”, उनले भने ।

समिति समन्वयकारी र सामाजिक हैसियतको संस्था भएकाले आफैँ लगानी गर्न सक्नेस्थिति नरहेको अध्यक्ष खड्काले स्पष्ट पारे । समितिले गुरुयोजनासँगै जिल्लाको पर्यटन क्षेत्रको वस्तुगत अवस्था झल्काउने वृत्तचित्र (प्रोफाइल) निर्माणको तयारी पनि अघि बढाएको थियो ।

समितिले विसं २०७६ जेठमा गुरुयोजना र वृत्तचित्र दुवैको प्रस्तावपत्र पर्यटनमन्त्री विकास लम्साललाई बुझाएको थियो । त्यसअघि विसं २०७५ फागुनमा मन्त्री लम्सालको उपस्थितिमा पर्यटन गुरुयोजना निर्माणबारे सदरमुकाममा बहृत् अन्तरक्रिया गरिएको थियो ।

सो अवसरमा समेत मन्त्री लम्सालले गुरुयोजनाका लागि बजेट उपलब्ध गराउने आश्वासन दिएका थिए । जिल्लाको पर्यटन विकासको भावी खाका र योजना समेटेर बन्ने गुरुयोजनामा टेकेर निजी र सार्वजनिक क्षेत्रले लगानी भित्राउने विश्वास लिइएको थियो ।

पन्ध्र वर्षसम्मको कार्ययोजना गुरुयोजनामा समावेश गरेर जिल्लाको पर्यटनलाई व्यावसायिकरुपमा उठाउने समितिको लक्ष्यमा तत्काललाई ठेस लागे पनि गुरुयोजना निर्माणको पहल पुनःथालिने अध्यक्ष खड्काले बताए । विज्ञ, पर्यटन व्यवसायी, सरकारी संयन्त्रदेखि सरोकार भएका पक्षसँगको सहकार्य र समन्वयलाई निरन्तरता दिइने भएको छ ।

गुरुयोजना तयारीकै लागि शुरु गरिएको जिल्लाका पर्यटकीय गन्तव्यस्थलको वस्तुगत विवरण सङ्कलनबीचमै रोकिएको छ । कोरोना महामारीले सिर्जित सङ्कटका कारण पनि सोचे जसरी काम गर्न नसकिएको समितिले जनाएको छ ।

बागलुङलाई पर्यटकीय जिल्लाका रुपमा घोषणा गर्न समितिले सरकारसमक्ष माग गर्दै आएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तीन वर्षअघि समिति गठन गरिएको थियो । त्यसअघि एकीकृत ढङ्गले पर्यटनको काम गर्ने संस्थाको समेत अभाव थियो । समितिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण तथा पुनःनिर्माणमा समन्वयकारी भूमिका खेल्दै आएको छ ।

पर्यटन क्षेत्रको दिगो र एकीकृत विकासका लागि गुरुयोजना अपरिहार्य रहेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए । उनले पर्यटन क्षेत्रमा राज्यको लगानी बढ्दै गए पनि व्यवस्थित विकास खड्कीरहेको औँल्याए ।

“पर्यटनका नाममा वर्षेनी बजेट आइरहेको छ, पूर्वाधार पनि बनीरहेका छन् तर जिल्लाको पर्यटनको समग्र विकासको योजना छैन, कतै पूर्वाधार छ, राम्रो गन्तव्यस्थल छैन, कतै गन्तव्यस्थल छ, पूर्वाधार छैन”, उनले भने । अध्यक्ष बस्नेतले स्थानीय तहले पनि आफ्नो छुट्टै गुरुयोजना बनाएर पर्यटनमा काम गर्नुपर्ने धारणा राखे ।

पर्यटन विकासको प्रचुर सम्भावना भएर पनि योजना, लगानी, पूर्वाधार र प्रचारप्रसार अभावमा बागलुङ ओझेलमा छ । सङ्घ, प्रदेश र स्थानीय सरकारले पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा बजेट खर्चिए पनि त्यसले यथोचित प्रतिफल दिन सकेको छैन । ढोरपाटन शिकार आरक्ष, कालिका भगवती मन्दिर, पञ्चकोट, मूर्तिकला सङ्गहालय, गलकोट दरबार, गाईघाट झरना, भकुण्डे, घुम्टेको लेक, भैरवस्थान मन्दिर, गाजाको दह आदि यहाँका प्रमुख गन्तव्यस्थल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *