प्रेमनारायण आचार्य, अर्घाखाँची । कोरोनाका कारण भारतमा रोजगारी गुमेर फर्किएका अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–५ का देबहादुर विकले गाउँकै क्वारेन्टिनमा आत्महत्या गरे । उनको यो निर्णयले उनको परिवारकै खुसी लुटिएको छ ।
“परिवारमा दुई छाक जोर्न पनि समस्या भयो”, मृतककी श्रीमती मनकला विकले दुखेसो पोखिन् । “कमाउने मानिस नै नभएपछि घर कसरी चलाउने, छोराछोरी कसरी पाल्ने, अहिले हामी साह्रै समस्यामा छौँ ।” उनका दुई छोरी र एक छोरा छन् । अहिले बाख्रा पालेर केही आम्दानी गरेकी उनले खाने र सरकारी विद्यालयमा छोराछोरी पढाउने सामान्य जोहो मात्र गरेकी छिन् ।
उनी भन्छिन्, “शुरुमा गाउँलेले दिएको अन्नपातले परिवार चल्यो । अहिले बाख्रापालनबाट जसोतसो जीविका चलाएकी छु । घर चुहिने भएको छ तर छाउने खर्च छैन ।” घरको छानो देखाउँदै उनले भनिन्, “यही घर छाउन भनेर उहाँ भारत जानुभएको थियो, कोरोना देखिएपछि खोइ किन डराउनुभयो पत्तै पाइएन, आफैँ ज्यान फाल्नुभयो ।”
यस्तै शीतगङ्गा नगरपालिका– ५ कै नारायण न्यौपानेको रक्त क्यान्सरबाट मृत्यु भएपछि श्रीमती नर्मदा न्यौपाने पनि बिचल्लीमा छिन् । घरमा रहेका छोराछोरी कसरी पढाउने र परिवार कसरी चलाउने भनेर समस्या थपियो । उनी पनि अहिले बाख्रा पालेर परिवार चलाएको बताउँछिन् ।
मनकला विक र नर्मदा न्यौपाने दुवैलाई जनचेतना सरोकार मञ्च अर्घाखाँचीले पाँच÷पाँच वटा बाख्रा प्रदान गरेको छ । दुवै अतिविपन्न परिवारलाई जनचेतना सरोकार मञ्च अर्घाखाँचीकोतर्फबाट बाख्रा खरिद गरी अनुदानमा उपलब्ध गराइएको जनचेतना सरोकार मञ्चका कार्यक्रम संयोजक युवराज ज्ञवालीले जानकारी दिए । विपन्न एवं साना किसानलाई स्वरोजगारी बनाउन र बाख्रापालन व्यवसायमा आबद्ध गराउन बाख्रा प्रदान गरेको संस्थाका परियोजना संयोजक ज्ञवालीको भनाइ छ ।
जिल्लामा भारतमा रोजगारी गरी फर्कने क्रममा भूमिकास्थान नगरपालिकाका एक जना र फर्किएर स्थानीय सरकारले बनाएको क्वारेन्टिनमा बसेको समयमा मालारानी गाउँपालिकाका एक जना गरी दुई जनाको ज्यान गइसकेको छ । अर्घाखाँचीका पाँच हजार ५०० भन्दाबढीले भारतमा रोजगारी गुमाएर आफ्नो घरमा फर्किएका छन् ।
लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीबाट भारतमा काम गर्न जाने मानिसहरुको सङ्ख्या व्यापक छ । स्वदेशमा रोजगारी नभएपछि भारतमा काम गर्न जाने कामदारहरु गत वर्षदेखि नै विभिन्न समस्यामा परेका छन् । जनचेतना सरोकार मञ्च अर्घाखाँचीले, अक्सफामसँगको आर्थिक तथा प्राविधिक सहयोगमा भारतमा मौसमीरुपमा काम गर्ने प्रवासी परिवारको आर्थिक पुनःस्थापन सशक्तीकरण परियोजनाअन्तर्गत संस्थाको परियोजना क्षेत्रभित्र पर्ने सहकारीका सदस्यलाई सहयोग गर्दै आएको छ ।
भूमिकास्थान नगरपालिकाको वडा नं १, २, ३ र ४ तथा शीतगङ्गा नगरपालिकाको वडा नं ५ र ६ मा भारतबाट रोजगारी गुमाएर फर्किएका परिवारलाई स्वरोजगार बनाउन कुखुरा, तरकारीको बीउ र आधुनिक माहुरीका घार पनि निःशुल्क वितरण गरेको छ ।
संस्थाले स्वदेशमै स्वरोजगार बनाउन तरकारीको बीउ, माहुरीका घार तथा बाख्रा वितरण गरेको छ । सिँचाइका लागि पनि आर्थिक सहयोग गर्दै आएको छ । महिला सहकारीका सदस्य व्यावसायिकखेतीमा लागेका छन् । महिला आर्थिकरुपमा सबल बन्दैछन् । व्यावसायिक कृषि कसरी गर्ने भन्ने सिकाउनका लागि संस्थाले गाउँगाउँमा कृषि जेटिए पनि उपलब्ध गराएको छ । परम्परागत तरिकाबाट हुने तरकारीखेती, माहुरी पालन तथा बाख्रा पालन विस्तारै आधुनिक र व्यावसायिक बन्दैछन् ।
सहकारीका सदस्यहरुलाई भारतबाट पठाएको पैसा सुरक्षितरुपमा तथा विनाझन्झट छिटो र छरितो प्राप्त गराउने सुविधा पनि प्रदान गरेको छ । गाउँकै सहकारीमार्फत छिटो र छरितो रुपमा भारतबाट पठाएको पैसा पाएपछि उनीहरु पनि खुशी छन् ।
पहिले आफन्तले पैसा पठाएको खबर गरेपछि बिहानै झिसमिसेमै गाडी चढेर सदरमुकाम जानुपथ्र्यो तर अहिले आफ्नै गाउँको सहकारीले पैसा दिन थालेपछि सजिलो भएको भूमिका स्थान नगरपालिका– ४ धारापानीकी कमला खत्रीले भनिन् । एकपटक पैसा लिन जाँदा गाडी भाडा, खाना खर्च आदि गर्दा एक हजार रुपैयाँभन्दा बढी खर्च हुने र दिनभर लाग्ने गरेकामा अहिले महिला सहकारीबाटै रकम पाएको उनको भनाइ छ ।
जनचेतना सरोकार मञ्च र अक्सफार्मको सहयोगमा धारापानीको सशक्तीकरण महिला कृषि सहकारी संस्था, ढाकाबांगको जनचेतना महिला कृषि सहकारी सस्था र ढिकुराको गंगा जमुना महिला विकास कृषि सहकारी संस्था, सरोकार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड जुकेना, जालकाडा बचत तथा ऋण सहकारी संस्था लिमिटेड खन र अन्नपूर्ण कृषक सहकारी संस्था लिमिटेड हंसपुरले विदेसबाट पठाएको पैसा मात्र होइन विद्युतको महसुल तिर्ने, मोबाइल रिचार्ज गर्ने, डिसहोमको रिचार्ज गर्ने जस्ता सेवाको स्थानीयहरुले भरपुर उपयोग गरेका छन् । संस्थाले गरेका कामले समाजमा परिवर्तन आएको भुमिकास्थान नगरपालिकाको वडा नम्बर १ का अध्यक्ष भोजराज खनालले बताए ।
रेमिटेन्सको खर्च उत्पादनशील क्षेत्रमा खर्च गर्नुपर्ने बानीको विकास हुन थालेको भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले बताए । विलासिता र खानपिनमै विदेशबाट पठाएको पैसा खर्च भएकोले यसको सदुपयोग गरी उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ छ । भारतमा मौसमी रुपमा काम गर्नेहरुका लागि स्थानीय सरकारले पनि सहयोग गर्ने भुमिकास्थानका मेयर थापाको भनाइ छ ।
तेस्रो मुलुकमा कामगर्न जानेहरुको जस्तै भारतमा काम गर्न जाने मौसमी कामदारको यथार्थ तथ्याङ्क राख्न, बीमा तथा अन्य सेवा अनिवार्य गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । जिल्लामा कोरोना भाइरसको सङ्क्रमणका कारण सन्धिखर्क नगरपालिकामा पाँच, शीतगंगा नगरपालिकामा चार, भुमिकास्थान नगरपालिकामा तीन, मालारानी गाउँपालिकामा दुई र पाणिनी गाउँपालिकामा २ गरी १६ जनाको मृत्यु भएको छ । आठ सय २३ जना जिल्लाभर कोरोना सङ्क्रमित भएकोमा उपचारपछि ७ सय ८८ जना घर फर्किएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १९ रहेको छ ।
अर्घाखाँचीमा भित्रने रेमिट्यान्सको रकम अधिकांस विलासिता र अनुपात्दक क्षेत्रमा नै खर्च हुने गरेको छ । जिल्लाका सक्षम र केही गर्ने खालका जनशक्ति विदेश पलायन भएका छन् र उनीहरुले कमाएर पठाएको रकम उत्पादनशील क्षेत्रमा लगाउनुपर्ने भनिए पनि त्यसो हुन सकेको छैन ।
लुम्विनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँची विदेसबाट पैसा आउने जिल्लाहरुमध्ये अग्रपङ्क्तिमा आउँछ तर त्यो पैसा उत्पादनशील क्षेत्रमा लगाउने वातावरण नहुँदा श्रम वेच्ने मानिस उत्पादन गर्ने काम मात्र भइरहेको छ ।
अर्घाखाँचीबाट झण्डै ४५ हजार युवा तथा युवतीहरु भारत, कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्सलगायतका देशहरुमा गएका छन् । साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी सस्थाले गरेको अनौपचारिक सर्भेक्षणमा जिल्लामा भित्रिएको रेमिटान्सको ८० प्रतिशत रकम विलासिता र अनुत्पादक क्षेत्रमा खर्च भएको देखिएको छ ।
केही गर्ने खालको युवा जनशक्तिलाई अर्काको देशमा पठाएर आएको पैसाको सदुपयोग गर्ने खालको योजना कुनै पनि स्थानीय सरकारसँग छैन । स्थानीय सरकारले नयाँ योजना र व्यावसायिक हुने खालका तथा स्वरोजगारमुखी कार्यक्रम ल्याउन नसक्दा पनि रेमिट्यान्सको रकम अनुत्पादक क्षेत्रमा खर्च भएर जाने गरेको हो ।
अर्घाखाँचीमा रहेका १५ वटा बैंक र ती बैंकका २० शाखा छन । ती बैंकमध्ये १८ वटाले रेमिट्यान्सको कारोवार गर्ने गर्दछन । विभिन्न १३ वटा सहकारी र चार वटा रेमिट प्रालीले समेत रेमिट्यान्सको कारोबार गरिरहेका छन् ।
वार्षिक झण्डै साढे सात अर्ब जिल्लामा भित्रने गरेको छ । यसमध्ये तीन अर्ब अर्थात् ४० प्रतिशत रकम दैनिक उपभोग्य सामग्री, खानपान, मोटरसाइकल, कार, इन्धन, फेसनअनुसारका कपडा, मोबाइल, सञ्चार तथा टेलिफोनमा खर्च हुने गरेको छ ।
करीब ४० प्रतिशत रकम अर्थात् रु तीन अर्ब उत्पादन नहुने क्षेत्र अर्थात घडेरी र घरमा खर्च हुने गरेको देखिएको अर्घाखाँची जिल्ला बचत सहकारी सस्थाका अध्यक्ष तथा साथी बचत तथा ऋण सहकारीका कार्यकारी निर्देशक प्रकाश भुसालले बताए । उनले भने,“जिल्लाको सदरमुकाम र कपिलबस्तुका विभिन्न भाग तथा रुपन्देहीको बुटबल, भैरहवा, दाङका विभिन्न भाग, चितवनदेखि काठमाडाँैमा समेत गएर घडेरी र घरहरु किन्ने काम भइरहेको पाइएको छ ।
बाँकी रहेको २० प्रतिशत रकम मात्र उत्पादनशील क्षेत्रमा खर्च भइरहेको छ । यसबाट कृषि फार्म, साना होटल, किराना पसल र ट्याक्सी तथा बस किनेको पाइएको छ । यस्तो व्यापार व्यवसाय पनि दिगो नरहेको र उनीहरुले पनि बीचैमा सो व्यवसाय छाडने गरेका पनि पाइएको छ ।