वीरगञ्ज । पर्साको वीरगञ्जमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले डोजर चलाएको छ ।
घण्टाघर आसपासको क्षेत्रमा सडक डिभिजन कार्यालय हेटौँडाले आइतबार डोजर प्रयोग गरी अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा अन्य संरचनाहरू भत्काउन सुरु गरेको हो ।
वीरगञ्जको गण्डकचोकदेखि–मितेरी पुलसम्म अतिक्रमण गरेर निर्माण गरिएका घर टहरालगायतका संरचना भत्काएको छ । यसअघि सडक क्षेत्रमा पर्ने संरचना खाली गर्न शनिवार माइकिङमार्फत सम्बन्धित पक्षहरूलाई जानकारी गराइएको थियो ।
आइतबार बिहानैदेखि एकैसाथ १३ वटा डोजर लगाएर शहरको मुख्य मार्ग चौडा बनाउने काम भइरहेको छ ।
वीरगन्जको मुख्य सडकलाई दायाँबायाँ दुवैतर्फ २५–२५ मिटर फराकिलो बनाउने उद्देश्यले पावरहाउस, मुर्ली, घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु होटल चोक, वीर्ता, छपकैया हुँदै भन्सार क्षेत्रसम्मका सडकका संरचना भत्काउन थालिएको हो।


